त्रिभुवन विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित युनुस अन्सारीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
कतारबाट आएका अन्सारीलाई प्रहरीको विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको एसएसपी सन्दीप भण्डारीले स्पेसखबरलाई जानकारी दिए । भण्डारीका अनुसार अन्सारीसँगै अन्य ४ जना पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अन्सारीसहित ६७ वर्षीय नासिर उद्दिन, ४९ वर्षीय मोहम्मद अफ्तर र ३९ वर्षीय नदिया अनवर छन् । उनीहरु पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल फर्कंदै थिए । शुक्रबार बिहान विमानस्थलभित्रको भन्सार क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुले आफ्नो २ ब्रिफकेस भरेर नक्कली भारतीय नोट ल्याएका थिए । उनीहरुलाई लिन विमानस्थल पुगेका युनुस पनि प्रहरी फन्दामा परेका हुन् ।
अन्सारी यसअघि पनि पटक-पटक नक्कली भारु र लागूपदार्थ कारोबारमा रंगेहात पक्राउ परेका व्यक्ति हुन् । पूर्वमन्त्री सलिमियाँ अन्सारीका छोरा युनुसलाई केन्द्रीय कारागारमा रहँदा भारतीय आपराधिक समूहले नै गोली प्रहार गरी हत्या प्रयास गरेको थियो । युनससँगै रहेका सोहेल खान र गाडी चालक सुजन रानामगर पनि पक्राउ परेका छन् । भारतमा नोटबन्दी भएपछि २ हजार दरका नक्कली नोट यति ठूलो परिमाणमा फेला परेको यो पहिलो घटना हो ।
प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो ।