बुधबार निधन भएका पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको भाेलि( शनिबार) पशुपति आर्यघाटमा अन्तेष्टी गरिने भएको छ ।
अल्जाइमर रोगका कारण मेडिसीटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार ९६ वर्षको उमेरमा उनको निधन भएको हो । उनका छोरा अमेरिकाबाट आउँदै गरेकाले शनिबार अन्तेष्टी गरिने भएको हो । ललितपुर जिल्लामा मेजर दिलबहादुर खत्री र आमा अप्सरादेवी खत्रीको सन्तानका रुपमा १९८० साल असोज ३ गते जन्मिएका उनले २०३३ साल साउन २४ गतेदेखि २०४२ साल मङ्सिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर काम गरेका थिए।
२००४ सालमा मुलुकी अड्डा ऐसवाल फाँटबाट सरकारी सेवामा प्रवेश गरेका उनले २००९ सालमा कानून मन्त्रालयको सचिव हुँदै प्रधानन्यायाधीश भई न्यायको क्षेत्रमा योगदान दिएका थिए । विसं २०४३ मा चीनका लागि नेपाली राजदूत समेत भएका खत्री विसं २०५७ मा राष्ट्रिय मानवअधिकार आयोगको पहिलो अध्यक्ष, विंस २०१६, २०२८, २०४८ मा तीन पटक कानून सुधार आयोगको अध्यक्ष, २०३१ सालमा प्रेस काउसिन्सलको अध्यक्ष भएर राष्ट्यि मानव अधिकारका क्षेत्रमा योगदान पुर्याएका थिए । आयोगको दोस्रो कार्यकाल २०६२ मा पनि अध्यक्ष भएर उनले योगदान गरेका थिए ।
तीन दिनसम्म आयोगको झण्डा आधा झुकाइने
राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो पहिलो अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोकमा तीन दिनसम्म आयोगको झण्डा आधा झुकाउने निर्णय गरेको छ । आयोगको आज बसेको आकस्मिक बैठकले आयोगका पहिला अध्यक्ष खत्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको आयोगका सचिव वेद भट्टराईले जानकारी दिए । आयोगले खत्रीको सम्मान र सम्झनामा आयोगको केन्द्रीय कार्यालयमा स्व खत्रीको तस्वीरसहित १३ दिनसम्म शोक पुस्तिका राख्ने र उहाँको निधन भएको १३औँ दिनका दिन आयोगका सबै कार्यालयमा श्रद्धाञ्जलिसभा आयोजना गर्ने निर्णय गरेको हो ।