ललितपुरको लगखेलस्थित थती टोलमा रहेको रातो मत्स्येन्द्रनाथको रथलाई जेठ २३ गते जावलाखेलतर्फ लगिने भएको छ ।
रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाइन्छ । मंगलबजारस्थित मणिमण्डप (सोह्रखुट्टे पाटीमा) मा बिहीबार मत्स्येन्द्रनाथका ज्योतिषहरू भेला भएर त्यस यात्राको साइत जुराएका हुन् । मणिमण्डपको चार थाममा गणक, लेखक, दृष्टक र स्रोता गरी चारजना ज्योतिष बसेर साइत हेर्ने परम्परा छ।
साइत जुराउनअघि मणिमण्डप भनिने ललितपुरका सत्रौं शताब्दीका राजा श्रीनिवास मल्लको पालामा बनेको ढुंगाको राजसिंहासनमा फूल, अविरले सिंगारिराखिएको थियो । त्यहाँ मत्स्येन्द्रनाथ र मीननाथको प्रसाद फूल ल्याएपछि ज्योतिषहरू आपसमा छलफल गरी साइत जुराएका थिए । ज्योतिस कीतिकिरण जोशीले जेष्ठ २३ गते रथलाई जावलाखेल लगिने र त्यसको चार दिनपछि भोटो देखाउने जात्रा हुने बताए ।