नेपालका लागि चिनिया राजदूत होउ याङकीले यही जेठ १५ बाट तातोपानी नाका पुनः सन्चालनमा आउने बताएकी छिन् । यो नाका चार वर्षअघिको भूकम्पका कारण बन्द भएको थियो ।
आज आयोजित पत्रकार सम्मेलनमा राजदूत होउले तातोपानी नाकाको पुनर्निर्माण सकिएको उल्लेख गर्दै अर्को सातादेखि सञ्चालनमा आउने बताइन् । ‘सुरूमा यो नाकामा मालवाहक सवारीसाधन चल्नेछन्,’ उनले भनिन् ।
उनले चीनतिरको बस्ती भूकम्पपछि निकै जोखिममा रहेकाले सारिएको र अहिले पनि जोखिम कायमै रहेकाले आमनागरिकले भने तत्कालै नाका प्रयोग गर्न नसक्ने स्पष्ट पारिन्।
नाका सञ्चालनसँगै दुई देशबीचको व्यापारमा वृद्धि हुने आशा पनि उनले व्यक्त गरिन् । राजदूत होउले केरूङबाट काठमाडौं रेल ल्याउन निकै कठिन भएकाले निकै सोचविचार गरेर अघि बढ्नु पर्ने पनि बताइन् । ‘यो संसारकै अप्ठेरो ठाउँमा बनाउनु पर्ने रेलमार्ग हो। जसका लागि धेरै वैज्ञानिक अध्ययन गर्नुपर्छ,’ उनले भनिन्, ‘आजको भोलि आउने कुरा होइन, सबै कुरा स्टेप बाई स्टेप गर्नुपर्ने भएकाले यस्ता आयोजनामा निकै समय लाग्छ।’
उनले कुनै पनि आयोजना बनाउन पूर्वसम्भाव्यता, सम्भाव्यता, डिजाइन र निर्माणसम्म धेरै प्रक्रिया पूरा गर्नुपर्ने बताइन्।
चिनियाँ कम्पनी फस्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्युटले गत वर्ष काठमाडौं–केरूङ रेलको पूर्वसम्भाव्यता गरेको थियो। उक्त अध्ययनले रसुवागढीबाट काठमाडौंको टोखासम्म ७२.२५ किलोमिटरको रेलमार्ग बनाउन ९ वर्ष लाग्ने उल्लेख गरेको थियो।