रुपन्देहीको सालझण्डी जंगलमा मृत अवस्थामा भेटिएका कपिलवस्तुका २७ बर्षीय चिरञ्जीवि आचार्यको हत्या आफ्नै साथीले गरेको पुष्टि भएको छ।
आचार्य सहित १० जनाको टोलीले जेठ ४ गते दिउसोवाटै कपिलवस्तुको लक्ष्मणघाट स्थित एक कटेजमा मदिरा पिएका थिए। त्यसैक्रममा मृतक आचार्य साथीलाई भेट्न रुपन्देहीको सालझण्डी जान भनी हिडेका थिए। संगै रहेका कपिलवस्तुकै राजु विकले रातीको समयमा एक्लै जान नदिने भन्दै मोटरसाईकलमा राखेर लगेका थिए।
सोही क्रममा बिकले जंगलमा लगेर आचार्यको हत्या गरेका हुन्। हत्यामा संलग्न २५ वर्षीय मुख्य अभियुक्त राजु बिक सहितका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय बुटवलमा बुधबार सार्वजनिक गरियो।
घटनामा संलग्न भनिएका कपिलवस्तुकै गोविन्द वहादुर खनाल, बसन्त खत्री, करण चौधरी, नविन न्यौपाने, सुरज खत्री, रमेश विक ,वावुराम सुनार, गोकुल क्षेत्री र रविन पौडेल गरी ९ जना पक्राउ परेका छन्। उनीहरु सबैले मृतक आचार्यसंगै बसेर मादक पदार्थ सेबन गरेका थिए।
आचार्यको साथमा करिव १ लाख नगद थियो। मदिराको नशामा रहेका बिकले एक लाख लिने लोभमा हत्या गरेको प्रहरीले पुष्टि गरेको छ। शनिवार राती घटना भए पनि शव भने सोमवार दिउसो सालझण्डी जंगलमा भेटिएको थियो। घटनाका मुख्य अभियुक्त सहित अन्य सबैलाई आवश्यक अनुसन्धान पछि कारवाही प्रक्रिया अघि बढाइने ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्ल वहादुर मल्लले जानकारी दिए।