सगरमाथाको उचाइ नाप्नका लागि खटाइएको नापी विभागको टोली सगरमाथा शिखरकाे चुचुराेमा पुगेका छन्। आज बिहान ३ बजेर १५ मिनेटमा विभागका उपसचिव खिमलाल गौतमको नेतृत्वमा टोली शिखरमा पुगेको हो।
टोलीका सदस्य रविन कार्की सहित क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पा लगायतले शिखरमा पुगेर जिएनएनएस जिपिएस सेट गर्ने काम सम्पन्न गरेको विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताए। उनीहरु फर्केर साउथकोल आइसकेका छन्। बिहीबारसम्ममा आधारशिविर आइपुग्ने पिक प्रमोशनले जनाएको छ।
शिखरतर्फ जानुअघि विभागका उपसचिव गौतमले कम्तिमा आधाघण्टा शिखरमै काम गर्नुपर्ने भएकोले राति नै शिखरमा पुग्नुपर्ने चुनौती रहेको बताएका थिए। शिखरमा जिपिएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण विन्दुहरुसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको छ।
टोलीकै दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल भने आधारशिविरमा बसेर सहयोग गरिरहेका छन्। अब जिपिएसमा सेट भएका तथ्यांकहरुको आधारमा संसारका दर्जनौं वैज्ञानिकहरुले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरि उचाइ टुंगो लगाएर पुष्टि गर्नेछन्। त्यसका लागि कम्तिमा अझै ६ महिना लाग्नेछ।