‘गाउँपालिकाको पैसा जनप्रतिनिधिको खातामा’ शीर्षकको समाचार बैशाख २४ मा खोज पत्रकारिता केन्द्रबाट प्रकाशित भएपछि लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष र उपाध्यले गल्ती ढाकछोप गर्न नक्कली माइन्युट तयार पारेका छन्।
सदरमुकाम बेसीशहरमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले माइन्युटको फोटोकपि बितरण गरेका थिए, जुन नक्कली भएको स्पष्ट देखिन्छ (हे. सक्कली र नक्कली माइन्युट)।
जलविद्युत आयोजनाले विनियोजन गरेको रकम गाउँपालिकाको खातामा नराख्ने निर्णय गरेको भनी माइन्युटमा थप गरिएको छ,जुन कुरा सक्कली माइन्युटमा छैन। पत्रकार सम्मेलनमा संविधान सभा सदस्य समेत रहेका तत्कालीन नेकपा एमालेका नेता जमिन्द्रमान घले, दोर्दी गाउँपालिकाका नेकपाका अध्यक्ष युवराज अधिकारीसहित नेता कार्यकर्ता उपस्थित थिए। माइन्युटमा अक्षर फरक रहेको पत्रकारको जिज्ञासामा गाउँपालिका अध्यक्ष ओम बहादुर गुरुङले केही नथपिएको दाबी गरे।
दोर्दी खोला करिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाले छुट्याएको रकम गाउँपालिकाको खातामा हाल्न नमिल्ने भनेपछि जनप्रतिनिधिको निजी खाता खोली रकम राखेको गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताए।
लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन चार जलविद्युत आयोजनाले सडक बनाउन दोर्दी गाउँपालिकाका लागि विनियोजन गरेको रु. १ करोड मनोमानी खर्च गरिएको छ। यसबारे गाउँसभामा त जानकारी गराइएको छैन नै, गाउँपालिकाका सदस्यहरुसमेत बेखबर छन्।
दोर्दी करिडोरमा निर्माणाधीन चार जलविद्युत आयोजनाले नौथर सेरा छोटे खोला ताँजे सडकका लागि चालुु आर्थिक वर्षमा प्रति आयोजना रु. २५ लाख दोर्दी गाउँपालिकाका नाममा छुट्याएका छन्। त्यसमध्ये रु. ३५ लाख निकासा भइसकेको छ भने ६५ लाख निकासा हुन बाँकी छ। लमजुुङमा निर्माणाधिन १२.५ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना, २७ मेगावाटको दोर्दी खोला आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ए र ५४ मेगावाटको सुपर दोर्दी जलविद्युुत आयोजनालाई दबाबमा पारेर गाउँपालिकालाई बजेट दिन बाध्य पारिएको हो।
गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङ, उपाध्यक्ष दिलबहादुर घले र चोलाकान्त ज्ञवाली सम्मिलित सडक स्तरोन्नति अनुगमन मुल्याङ्कन समितिको नाममा खोलिएको जनता बैंकको संयुक्त खाता नम्बर हो ०९५००३०६३७४४२०१। त्यसैमा वैशाख ०७६ सम्ममा चार जलविद्युत आयोजनाले पहिलो किस्तावापत रु. ३५ लाख जम्मा गरी खर्च समेत भइसकेको छ।