यही वैशाख २३ गते गलत समूहको रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका १०, सिसौटियाकी ५ वर्षीया आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरबाहीले मृत्यु भएको बताएका छन् । उनले चिकित्सकको लापरबाहीले छोरीको मृत्यु भएको भन्दै दोषीलाई कारबारहीको माग गरेका छन् ।
राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले कतैबाट न्याय नपाएको गुनासो गरे । उनले भने, ‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायमा धाइरहेका छौं । तर, न्याय पाएनौं । यसले हामीलाई अझै पीडा दिएको छ ।’
शल्यक्रिया गर्नुपुर्व बिरामीको दुवै मिर्गौला ठीक रहेको तर शल्यक्रियापछि दुवै काम नलाग्ने भएको रिपोर्ट देखाइएको उनले बताए । उनले भने, ‘शल्यक्रिया गरेलगत्तै मिर्गौला बिग्रिएको मेडिकल रिपोर्ट छ । हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’
आफूहरूले स्वास्थ्य मन्त्रालयमा पुगे पनि न्याय पाउँ भनी हारगुहार गरेको उनले सुनाए । उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोखे ।
कार्यक्रममा बालिकाका आफन्त सुरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरी गलत रगत चढाएको आरोप लगाए । उनले भने, ‘मुटुको शल्यक्रिया हुँदा मृगौलाको भागमा किन चिरियो ? सुरुदेखि नै चिकित्सकले गल्ती गरिरहनुभएको छ ।’
शल्यक्रियापूर्व अस्पताल प्रशासनले गराउने मञ्जुरीपत्रमा बिरामीको मृत्युको सम्भावनामा १ देखि २.५ प्रतिशत रहेको लेखिएको थियो । तर, मृत्युपछि सोही ठाउँमा टिपेक्स लगाएर २० देखि ३५ प्रतिशत बनाइएको छ ।’
प्रहरी प्रशासनकहाँ पटक–पटक धाउँदापनि किटानी जाहेर लिन नमानेको यादवले पनि आरोप लगाए । उनले थपे, ‘कहिले प्रहरी कार्यालय महाराजगन्ज त कहिले सरकारी वकिलको कार्यालय र कहिले जिल्ला प्रशासन धाइरहेका छौं । तर, हाम्रो उजुरी दर्ता गराउन कोही पनि तयार छैनन् ।’
उनले प्रहरी वृत्त महाराजगन्जले भने व्यक्तिको नाम हटाएर उजुरी दिए तत्काल दर्ता गर्ने भन्दै फकाउने गरेको बताए । पछिल्लो समय आफूहरूलाई ज्यानको असुरक्षा महसुस भइरहेको पनि उनले बताए ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक समूहको रगतका कारण आकृतिको मृत्यु भएको थियो । उनको शव अहिले हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ ।
तर, बालिकाका बुवा रामप्रवेशले भने छोरीको शव कहाँ राखेको जानकारी नभएको बताए । उनले भने, ‘मलाई त इन्साफ चाहिएको छ । तर, खुरुक्क लाश लिएर जान, बढी बोलिस् भने तलाईं नालामा फालिदिन्छु भनेर मलाई धम्की दिने गरेका छन् ।’ ‘ओ’ पोजेटिभ भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत दिइएको थियो । जसका कारण उनको मृत्यु भयो ।
पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र नारायण घिमिरेले घट्नामा लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । भण्डारीले मृतकको बाबुले लिएर गएको जाहेरी दर्ता नगरिएको दुस्कृतिसँग सम्बन्धित दायित्वको मुद्दा हालिने पनि जनाए ।
भण्डारीले आफुहरूले पीडित परिवारलाई सहयोग गर्ने विश्वास दिलाए । उनले भने, ‘कानुनको शासनलाई धज्जी उडाउने काम भएको छ ।’ प्रहरीले अनुशन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए ।
नेपालका लागि नेपालीका अभियन्ता अधिवक्ता घिमिरेले यो घटनाको अनुशन्धानको दायरा अघि बढ्नुपर्ने माग गरे । ‘प्रहरीले उजुरी लिनुपर्छ,’ उनले भने, ‘उपचारका क्रममा गलत प्रवृत्ति, गलत उपचार र गलत ग्रुपको रगत दिएर गलत उपचार गरी लापरबाहीको कारण मृत्यु भन्ने कुरा आएको छ । एउटा अस्पताल, जहाँ नागरिक उपचार गर्न बसेको छ । उनीहरूको लापरबाहीले कसैको ज्यान जाने अवस्था आउँछ भने उनीहरूले उन्मुक्ति पाउने अवस्था हुँदैन । यसले २÷४ कुरा र फौजदारी आचारसंहिता आकर्षण हुन्छ ।’