नेपाललगायत दक्षिणएशियाली मुलुकहरुबाट बिहेको नाममा युवतीहरु तस्करी गर्ने धन्दा मौलाएको छ । केही समयअघि नेपाली युवतीलाई बिहे गरेर चीन लगिएका समाचार सार्वजनिक भएका थिए । त्यसरी लगिएकाहरु हिसाका शिकार भएका छन् । देहव्यापारमा लगाइएका छन् । गैरकानुनी अंगदानमा प्रयोग गरिएका छन् । यस्तै तस्करीको धन्दा पाकिस्तानमा पनि चलेको पाइएको छ । बिहेको प्रलोभन देखाएर चीन लगिएकामध्ये २० भन्दा बढी युवतीलाई स्वेदश फिर्ता पठाइसकिएको छ । त्यस्तै घटना बेहोरेकी एक पाकस्तिानी युवतीको कथा प्रस्तुत छ :
म २० वर्षको भएँ, घर गुजराँवाला । मेरो एक छिमेकीको माध्यमले एक चिनिया केटाको कुरा आयो । ती छिमेकीले मेरो परिवारलाई त्यो केटाको फोटो देखाए र भने– केटालाई मन प¥यो भने केटीको त जिन्दगी नै बदलिन्छ ।
साँच्चै मेरो जीवन नै बदलियो । मेरो बिहे २४ सेप्टेम्बरमा लि ताओ नामको केटासँग भयो । पहिला उसले मलाई एक महिनामा इस्लामावादमा राख्यो र त्यहाँ मजस्तै अरु तीन केटी थिए । मेरो भीच्याट एकाउन्ट पनि बनाइयो । तर त्यसलाई मेरो ‘पति’ ले प्रयोग गथ्र्यो । कागजात बन्ने बित्तिकै हामी चीन उड्यौं ।
हवाइजहाज, रेल र कारको तीन दिनको यात्रापछि हामी संघाईनजिकैको शहर जियाङसु पुग्यौं । ली ताओको घरमा एउटा कोठा र लाउन्ज थियो । घरमा एउटामात्र शौचालय थियो ।
घर पुगेपछि ली ताओले एक महिलासँग परिचय गरायो र भन्यो–उहाँ मेरी आमा । ती महिला हामीसँग रहन्थिन् । तर त्यति धेरै गफ गर्दिनथिइन् । टुटेफुटेको अंग्रेजी पनि बोल्थिन् । मलाई पनि टुटेफुटेको अंग्रेजी आएपनि बोल्ने अवसर कम मात्र हुन्थ्यो ।
बिहेको केहीदिनपछि मेरो पति दिनहुँ रक्सी धोकेर आउन थाल्यो र जबर्जस्ती सेक्सको माग गर्न थाल्यो । मलाई त्यसपछि लाग्न थाल्यो म कुनै किनिएको चिज हुँ, जसलाई उसले जसरी चाह्यो, उसरी प्रयोग गर्न खोज्दैछ । अस्विकार गरे पिट्थ्यो ।
पहिले मेरो बाआमालाई भनिएको थियो केटा समुद्री खानेकुरा प्याकिङ गर्ने काम गर्छ । त्यहाँ पुगेपछि थाहा भयो उ कम्प्युटर इन्जिनियर रहेछ । तर कहाँ काम गर्छ थाहा पाउन सकिनँ ।
केही दिनपछि म चीनमा रहने अन्य पाकिस्तानी केटीहरुसँग कुरा गर्न थालें । म नानजिङमा रहने एक केटीलाई पहिलेदेखि नै चिन्थे । उसले भनी– जस्तोसुकै भएपनि उसको साथ बाहिर नजाऊ । किनभने पतिले उसलाई डान्सबारमा लगेर साथीहरुलाई जिम्मा लगाएको थियो । चिच्याउदा पनि उसलाई बचाउन कोही आएन ।
यो सुनेर मलाई डर लाग्यो । त्यतिबेलासम्म पतिले कसैसँग पनि भेट गराएको थिएन । म ठीकै थिएँ ।
एकदिन ली ताओले केही मानिसहरुसँग भेट गराउन लग्यो । त्यो एउटा उद्योग थियो, जहाँ सबै पुरुष थिए । सबैले मलाई घुरेर हेरिरहेका थिए । मैले उसलाई यहाँ किन ल्याएको भनेर सोधें । उसले केही जवाफ दिएन । अनि, उसको गाडीको चाबी खोसें र आफैंलाई गाडीमा बन्द गराए । तमासा निकै भयो, साथै समयको बर्बादी पनि । त्यसरात उसले मलाई घर फर्कायो ।
घर आएर उसले मलाई निकै कुट्यो । मेरो फोन कब्जामा लियो । मेरो भीच्याट अकाउन्ट डिलिट गरिदियो । मेरो पासपोर्ट, परिचयपत्र, बिहे दर्ता प्रमाणपत्र सबै उसको साथमा थियो । त्यो रात मैले आफ्नो नसा काट्ने कोशिश गरें । तर सफल भइनँ । मेरो शरीरमा रगतै थिएन । किनभने म तीन दिनसम्म खान पाउँदिनथें ।
यो घटनाको दोस्रो दिन मेरो पति मेरा लागि मसरुम सुप लिएर आयो । मैले पिएँ । तर त्यो रात अचानक बिउँझिदा त मेरो टाउको बेस्सरी दुखिरहेको थियो । सायद मलाई निद्रा लाग्ने औषधि दिएको थियो । किनभने, म बेला बेला चिच्याउथें ।
एकदिन मैले हिम्मत गरेर स्थानीय प्रहरीलाई फोन गरें । प्रहरीले भने–अब चीन तपार्इंको घर भयो, जे समस्या परेपनि हामीलाई बताउनुहोला । हामी समाधान प्रयास गर्नेछौं ।’
मैले पतिले कब्जामा लिएको सबै कागजात फिर्ता दिलाइदिन आग्रह गरें र भनें– दिलाइदिनुभएन भने अझ माथिल्लो निकायमा उजुरी गर्नेछु या ज्यान दिनेछु ।’ त्यसपछि प्रहरीले मेरो पतिसँग मेरो सबै कागजात फिता दिन आदेश दियो । कागजात पाइसकेपछि मैले आफन्तलाई जानकारी दिएँ र उनीहरुले चीनस्थित पाकिस्तानी दूतावासमा सम्पर्क गरे । मेरा पिताजीले विदेशमन्त्री शाह महमदू कुरेसीलाई पनि पत्र लेख्नुभयो ।
यति गर्न ५ महिना लाग्यो र मलाई घर पठाइयो । एक महिना भयो म आएको । यति कुरा भन्न मलाई किन हिम्मत भयो भने, मजस्ता अन्य केटीहरुले पनि उजुरी दिएका छन् । यसो हुँदा थप पाकिस्तानी केटी अब चीन जानेछैनन् ।
(बिहेको नाममा चीन तस्करी गरिएकी एक पाकिस्तानी युवतीले स्वदेश फर्किएपछि दिएको बयानमा आधारित बीबीसीको आलेखबाट)