कुनै बेला निकै ठूलो सङ्ख्यामा उजुरी पर्ने गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडाैं उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन्।
समाज परिवर्तनसँगै शिक्षा, सचेतना र सूचना प्रविधिको विकासले यस्ता कतिपय अपराधका घटना शून्यमा झरेका छन् भने केही घटनामा कमी आउनुमा कानुनी सुधार तथा प्रहरीको सक्रियता प्रमुख कारक रहेको पाइएको छ।
महानगरीय प्रहरी कार्यालय अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटा प्रहरी परिसर र परिसर अन्तर्गत वृत्तहरूबाट १७३ प्रकारका अपराधको अनुसन्धान तथा कानुनी कारवाहीका लागि मुद्दा दर्ता हुने गर्छन्।
ती मध्ये ४१ भन्दा बढी अपराध तथा अपराधजन्य घटनाहरू करिब शुन्यको अवस्थामा पुगेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँका मुद्दा शाखा प्रमुख मोहन थापा गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी अपराध हुनै छोडेको बताउनुहुन्छ।
चिठीपत्र खोलेको, हराएको, चोरी भएको, बालविवाह, टेलिफोन कल वाइपास (भीओआईपी), छुवाछूत, सार्वजनिक सम्पत्ति हिनामिना, नदी तथा पोखरीमा हामफालेर, घाँटी काटी, विषालु सिरिन्जले घोपी र गोली हानी हत्या तथा आत्महत्या गर्ने जस्ता अपराधमा कमी आएको छ।
नेपाल ल क्याम्पसका अपराध शास्त्रका प्रा.डा. रजीतभक्त प्रधानाङ्गा केही अपराध स्वत हराउँदै गएको बताउँछन्। यसका पछाडि धेरै कारणहरु छन् - फौजदारी कानुनमा आएको सुधार, समाज परिवर्तन, चेतनाको विकास र प्रविधिको प्रयोगकले परम्परागत अपराध घट्दै गएका हुन। गाेरखापत्र दैनिकमा खबर छ।