अढाइ वर्षको छोरो गुमाएकी मिथिला नगरपालिका ६, ढल्केवर धनुुषाकी ३५ वर्षीया रेणु साहको बलिन्द्रधारा आँशु थामिएको छैन ।
छोरो आर्यनको हत्याले उनको सिंगो परिवार अचेत छ। आमा जसोतसो आफूलाई सम्हाल्न खोज्दै छिन्। हजुरआमा लालमुनि नाति गुमाएको पीडाले अचेत छिन् । सोमबार साँझदेखि घरमा चुलो बलेको छैन ।
आर्यनको हत्याले रेणुको परिवारमात्र होइन, सिंगो ढल्केबर शोकमा डुबेको छ। वैदेशिक रोजगारीको क्रममा मलेसिया गएका आर्यनका बुवा शम्भु पनि होसमा नभएको भाइ सञ्जित बताउँछन् । अवोध बालकको निर्मम हत्याले गाउँलेहरु पनि त्रसित छन् । गत सोमबार दिउँसो करिब ४ बजे घरबाट बेपत्ता आर्यनको शव मंगलबार बिहानै घरपछाडिको बारीमा घाँटी रेटेर हत्या गरी फालेको अवस्थामा फेला परेको थियो ।
यसरी भयो आर्यनको हत्या
छोरीलाई भाइ खेलाउनु भन्दै रेणुले छोरो आर्यनलाई दालभात खुवाएर सोमवार दिउँसो घाँस काट्न खेततिर गएकी थिइन्। आर्यनका हजुरबुवा, हजुरआमा छिमेकमा आफन्तको विहेमा गएका थिए। दिउँसो ४ बजेतिर हजुरआमाले आर्यन घरमा नरहेको थाहा पाइन्। कसैले बच्चालाई खेलाउन लगेको होला भनेर उनले खासै वास्ता गरिनन्।
सबैजनालाई घरमै देखेपछि उनी छरछिमेकमा आर्यनलाई खोज्न हिडिन्। छिमेकी लगायतका उनका सबै आफन्तले आर्यन हराएको खबर पाए। परिवारका सबैजना, आफन्तजन तथा गाउँलेले चारैतिर आर्यनको खोजी गर्न थाले। आर्यन हराएको खबर प्रहरीमा गरियो। इलाका प्रहरी कार्यालय ढल्केवरले बालक हराएको जानकारी पाउनसाथ खोजी अघि बढायो। राति १ बजेसम्म आर्यनको अत्तोपत्तो नभएपछि परिवारका सदस्यले रोएरै रात कटाए।
मंगलवार विहानैदेखि पुनः खोजी शुरु भयो। आर्यनकी हजुरआमा लालमुनि विहान करिब ५ बजे च्यादर ओढेर नाती खोज्न घर पछाडि बारीमा पुगिन । र, त्यहाँको दृष्य देखेपछि उनले आफूलाई संहाल्न सकिनन्। आँप, कटहर लगायतको रुखविरुवा रहेको फुलवारीमा लालमुनिले गर्दन रेटेर हत्या गरेर फालेको अवस्थामा आर्यनलाई फेला पारेकी थिइन्। उनका अनुसार अगाडीबाट थोरैमात्र घाँटी बँचेको थियो। आर्यनले धागोको मालामा लगाएको ४ आनाको सुनको हनुमानजी हत्याराले चोरिसकेको थियो। आर्यनलाई च्यादरले ढाकेर जस्ताको त्यस्तै उठाएर चित्याउँदै हजुरआमाले घरसम्म ल्याइन्।
‘बदला लिन हत्या’
‘करिब दुइ वर्षअघि छिमेकीका छोराले गर्नै नहुने काम गरेपछि प्रहरीमा उजुरी हाल्दा छिमेकी शिव कुमार महतोसँग दुस्मनी भएको थियो,’ आर्यनका हजुरआमा लालमुनिले भनिन्, ‘शिवको छोरो जेल गएपछि उसले पटक पटक बदला लिएरै छाड्नै भनेर धम्की दिँदै आएका थिए।’ नातीको हत्या गरी शिवले बदला लिएको हुनसक्ने उनको आशंका छ।
कहाँ पुग्यो अनुसन्धान
आर्यनको शव फेला परेपछि धनुषाका प्रहरी उपरीक्षक शेखर खनालको टोलीले घटनास्थल पुगेर अनसन्धान शुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरीले छिमेकी शिव कुमार महतो, उनका छोरा प्रदिप र सन्जीपलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ। प्रहरी उपरीक्षक खनालका अनुसार अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिइ प्रहरीले सोधपुछ गरिएको छ।
‘बालकको हत्यारा पत्ता लगाउन हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ, हाम्रो सबै संयन्त्र यसमा केन्द्रित भएको छ छिट्टै दोषीलाई कानुनी दायरामा ल्याउने प्रयास जारी छ’,उनले भने। घटना अनुसन्धानकाल ागि संघीय, प्रदेश र जिल्ला प्रहरी कार्यालय गरी सबै प्रहरी संयन्त्र परिचालन गरिएको उनले जानकारी दिए। घटनाको अनुसन्धान अझै प्रभावकारी बनाउन धनुषाका प्रहरी नायव उपरीक्षक छेदीलाल कमाटीको नेतृत्वमा ९ सदस्यीय अनुसन्धान टोली गठन गरिएको प्रहरी उपरीक्षक खनालले जनाए।