पछिल्लो समय भूमाफिया सक्रिय भएका छन् । कानुनीराजकै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानुन व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको छ ।
डुडुवा गाउँपालिका २, बेतहनीकी उषा कुर्मीको १ बिघा १५ कठ्ठा ४ धुर उच्च अदालत बार एसोसिएसन बाँकेका अध्यक्षसमेत रहेका कानुन व्यवसायी विकास आचार्यले आफ्नो नाममा गराएको पीडितको भनाइ छ । बेतहनीकै नान भन्ने दुर्गाप्रसाद बर्मा, रामबहादुर बर्मा र आशाराम बर्माको मिलेमतोमा आचार्यले उषाको करोडौँ मूल्यको जमिन आफ्नो नाममा गराएको पाइएको छ ।
उषाकी आमा लामो समयदेखि पायल्सको बिरामी छिन् । छिमेकी दुर्गा, राम र आशारामले जग्गा बिक्री गरी उपचार गराइदिने बताएपछि उषाले उनीहरुकै पहलमा आचार्यलाई २ कठ्ठा साढे ४ धुर जमिन २ लाख ५० हजार रुपैयाँमा बिक्री गरेकी थिइन् । उषा लेखपढ गर्न नजान्ने भएपछि जग्गा पास गर्ने क्रममा २५ लाख रुपैयाँमा १ बिघा १५ कठ्ठा ४ धुर बिक्री गरेको सहीछाप गराएर करोडौँ मूल्यको जग्गा झ्वाम पारिएको हो ।
सो जमिन उषाका बुबा जगदीशले यसअघि नै छोरीको नाममा नामसारी गरिदिएका थिए । उषाको नाममा रहेको कित्ता नं. १८, २४, २०, ३१, ३२, ९८, १०८, १३२, १४४, १४९ र ५०८ गत २०७४ मंसिर १८ मा आचार्यको नाममा पास भएको छ । दुर्गा, राम र आशारामले जमिन बिक्री गराइदिएपछि उषाकी आमालाई उपचार गराइदिन्छौँ भन्दै उनीसहित उनका बाबुलाई भारतमा लगेर करिब ६ महिना बन्धक बनाएको पीडितको भनाइ छ ।
“डाक्टर आउँछ भन्दै हामीलाई एउटा घरमा बन्धक बनाइयो, तर कोही आएन । ममाथि दुर्गा र रामले पटक–पटक बलात्कारसमेत गरे,” जसोतसो त्यहाँबाट भागेर वैशाख १० गते बेतहनी आएकी उषाले भनिन्, “भागेर ज्यान जोगायौँ । घर आउँदा आफ्नो घरजग्गाको आम्दानी सोधखोज गर्दा, यो जग्गा तिम्रो होइन, बिक्री भइसक्यो भनेर छिमेकीले भनेपछि छाँगाबाट खसेजस्तै भएँ ।” अहिले उषा आफ्ना वृद्ध बुबाआमासँगै न्याय खोज्दै अड्डा-अदालत र प्रहरी प्रशासन धाइरहेकी छन् ।
तर, कानुन व्यवसायी आचार्यले प्रक्रिया पुर्याएर आफूले खरिद गरेको बताउँछन् । सो जग्गा पहिले पनि अदालतमा रोक्का भएको र पछि आफूले पैसा बुझाएर फुकुवा गरी किनेको उनको भनाइ छ । “पीडितलाई मर्का परेको भए, बसेर मिलाउन सकिन्थ्यो,” उनले भने, “तर अहिलेसम्म पीडित मसँग आउनुभएको छैन । यो मेरो पेसागत व्यवसायलाई धमिल्याउने खेल भएको छ ।” केही दिनअघि आचार्यकै ल फर्मबाट अख्तियारले ३ लाख रुपैयाँ घूससहित उच्च अदालत नेपालगन्जका टाइपिस्ट (नायब सुब्बा) कृष्णकुमार पाठकलाई पक्राउ गरेको थियो।रासस