स्कुलको फोहोर ट्रिपरमा लगेर कालीखोलामा फाल्ने टप्प बोर्डिङ स्कुललाई ५० हजार जरिवाना गराइएको छ ।
शनिबार बेलुका आएको ट्रिपरले फोहोर फालेको स्थानीयले देखेपछि जनप्रतिनिधि, स्थानीय र नागरिक समाजको पहलमा टप्सलाई जरिवाना गर्ने निर्णय भएको हो ।
पोखरा १० रामघाटमा रहेको टप्स स्कुलले ट्रिपरमा हालेर फोहोर पोखराको २० अन्तर्गत कालीखोलाको भीरमा फालेको स्कुलका सञ्चालक रत्नमान गुरुङले जनप्रतिनिधिसँग स्वीकारेका छन् । फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम स्कुललाई ५० हजार जरिवाना गराउने निर्णय भएको पोखरा २० का वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।
आइतबार भएको छलफलमा टप्सका सञ्चालक रत्नमान नपुगी प्रतिनिधिको रुपमा शिक्षक चित्र गुरुङलाई पठाएका थिए । सुरुमा पोखरा महानगरले १५ हजार जरिवाना लिने तयारी गरे पनि स्थानीयको विरोधपछि ५० हजार जरिवाना लिने निर्णय भएको हो । वडाध्यक्ष गुरुङ भन्छन्, ‘फालेको फोहोर सबै उठाएर लैजाने र आइन्दा यसरी नफाल्ने प्रतिवद्धता गराउँदै ५० हजार जरिवाना गराउने निर्णय भएको छ ।’
वृहत सफाइ अभियानका अभियन्ता रामबहादुर पौडेलले महानगरलाई नमुना बनाउन सबैले योगदान गर्नुपर्ने बताए । उनले शैक्षिक संस्था, अग्रणीहरुले सरसफाइको नेतृत्व गर्नुपर्नेमा सहरको फोहोर गाउँमा लगेर फाल्नु शोभनीय नभएको बताए ।