बिरामी र अशक्त मानिसहरु ओसारपसार गर्ने सबारी साधनमा अबैधानिक र आपराधिक काम पनि हुँदोरहेछ भन्ने कुरा मकवानपुर प्रहरीले पत्ता लगाएको छ ।
बिरामी बोक्ने एम्बुलेन्समा गाँजा फेला परेपछि बिरामीको नाउँमा अरु नै कमाउ धन्दा चल्ने गरेको प्रहरीले पत्ता लगाएको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नं १५ लच्कास्थित सडक खण्डमा रोकिराखेको अबस्थामा रहेको बीआर ०५ पी ५६०५ नंको एम्बुलेन्समा जाँच गर्दा ६४ किलोग्राम लागूऔषध गाँजा फेला परेपछि प्रहरी आश्चर्यमा परेको छ ।
यसअघि जीप, कार, मोटरसाइकल, इन्धन ट्यांकर, टाटासुमो, बस र ट्रकहरुमा प्रहरीले गाँजा बरामद गर्नेगरेको थियो । तर, यसपटक एम्बुलेन्स चालकको सिटपछाडि गाँजा भेटिएपछि तस्करहरुको ‘नयाँ रुट’ मा प्रहरी पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एबम् प्रवक्ता सागरबिक्रम राणाका अनुसार रोकिराखेको अबस्थामा शंकास्पद लागेर प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्समा जाँच गरेको थियो ।
जाँचका क्रममा मानिसहरु फेला नपरेको र एम्बुलेन्स धनीको बारेमा खोजी र अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।