प्रदेश ५ को नाम र राजधानी तोक्न गठन गरिएको विशेष समितिले विज्ञका सुझाव माग गरेको छ । यसअघि जिल्ला जिल्लामा पुगेर सुझाव संकलन गरिएपनि निष्कर्षमा पुग्न नसकिएपछि विज्ञको सहारा खोजिएको हो ।
जसका कारण राजधानी तोक्ने प्रक्रिया थप लम्बिने भएको छ । आइतबार बिहान बसेको विशेष समितिको बैठकले नाम र राजधानीका लागि विज्ञ समिति बनाएर सुझाव लिने निर्णय गरेको छ। सचिवालयले अब विज्ञ समिति गठन गरी सुझाव लिएपछि मात्रै मुल समितिको प्रतिवेदन तयार हुनेछ। यो प्रक्रिया अर्को हिउँदे अधिवेशनमा मात्रै हुने बताइएको छ।
प्रदेशसभाको हिउँदे अधिवेशन आइृतबार नै अन्त्य हुँदैछ । त्यसलगत्तै बजेट अधिवेशन सुरु हुने भएकाले राजधानीको विषयले प्रवेश नपाउने सांसद नै बताउँछन्। विज्ञ समिति गठन र त्यसले समेत अध्ययन गर्नुपर्ने भएकाले प्रक्रिया एक वर्ष लम्बिने सांसद बताउँछन्।
विशेष समितिका सभापति दीपेन्द्रकुमार पुन मगरले विज्ञ समिति गठनका लागि सचिवालयलाई आग्रह गर्ने निर्णय गरिएको बताए ।
१३ सय सुझावले दिएन निष्कर्ष
उपसमितिले दिएको प्रतिवेदनमा राजधानीका लागि रुपन्देही या दाङ र नाम लुम्बिनी सुझाव दिइएको छ १२ वटै जिल्लाबाट संकलन भएका १३ सय १२ सुझाव गणना गरेर जिल्ला तोकिएको छ । सुझावमा सबैभन्दा बढी दाङले ५ सय ५३ मत पाएको छ भने रुपन्देहीले ३५० पाएको एक सांसदले जानकारी दिए। यस्ता सुझाव वितरण पनि पुर्वाग्रही ढंगले गरिएको आरोप कतिपय सांसदहरुले गरेका छन् । समितिले बनाएको प्रतिवेदनमा भने अंग्रेजी वर्णानुक्रम अनुसार नाम राखिएको छ। अर्घाखाँचीदेखि प्युठान, बाँके, पाल्पा, कपिलवस्तुसमेत सुझावमा समेटिएका छन्।
प्रदेश सभा उपसमितिका अधिकांश सदस्य प्रदेश ५ को नामका विषयमा करिब सहमतिमा पुगेका छन् । उनीहरुले लुम्बिनी प्रदेशका विषयमा सहमतीजस्तै रहेको बताए । कांग्रेस संसदीय दलका सचेतक तथा समिति सदस्य निर्मला क्षेत्रीले अधिकांशले लुम्बिनीमा सहमती जनाएको बताईन् । उनले भनिन्, ‘नाममा खासै समस्या देखिएन तर ठाउँका विषयमा हरेकले चासो रहेका छन् ।’ कतिपय सांसदहरुले विकल्पमा प्रदेशको नाम बुद्धभूमि पनि प्रस्ताव गरेका छन् ।