भारतमा हुने लोकसभा चुनावका कारण नेपाल-भारत सीमा नाका शनिबार बेलुकी ६ बजेदेखि भोलि (सोमबार) साँझ ६ बजेसम्मका लागि बन्द गरिएको छ ।
भारतको उत्तर प्रदेश राज्यमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर बाँके र बर्दियाका नाका बन्द गरिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको हो । सीमा बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्नेबाहेक अन्य आवतजावत ठप्प हुनेछ ।
उता बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले पनि सीमामा अवान्छित गतिविधि हुन नदिन दुवै मुलुकको सुरक्षा अवस्था चुस्त पारिएको बताएका छन् । बर्दियासँग जोडिएको करिब ८७ किमि सीमा सोमबार साँझसम्म बन्द गरिने उनले बताए ।