विराटनगरका अग्रज पत्रकार मोहन भण्डारी पुरस्कृत भएका छन्।
२६ औं विश्व प्रेस स्वतन्त्रता दिवशको अबसरमा आज पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको कार्यक्रममा उद्घोष दैनिकका सम्पादक भण्डारीलाई भवानीप्रसाद जिवादेवी रेग्मी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । एक नम्बर प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्द बहादुर तुम्बाहाङले नगद ४१ हजार एक सय एक रुपैया र सम्मानपत्रसहित सम्मान गरे।
कार्यक्रममा शुभकामना दिनुहुदै प्रदेश प्रमुख तुम्बाहाङले पत्रकारले पेशागत मर्यादा कायम राख्दै तीनै तहका सरकारलाई खबरदारी गर्नुपर्ने बताए। उनले पत्रकार देश र जनताप्रति उत्तरदायि हुनुपर्ने र इमान्दारिताबाट चुक्न नहुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश महासचिब विबेक गौतमले अहिले पनि पत्रकारहरु समाचार लेखेकै आधारमा गिरफ्तार हुने गरेको भन्दै पत्रकारहरुले स्वतन्त्रपुर्वक समाचार सम्प्रेषण गर्न पाउनुपर्ने बताए ।
यसैगरी नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले हरेक आन्दोलन सफल बनाउन पत्रकारीताले सधै अग्रणी भूमिका निर्वाह गरेको भन्दै सत्य तथ्य विषय निर्वाध रुपमा सम्प्रेषण गर्न पाउनुपर्ने बताए। कार्यक्रममा अग्रज पत्रकार पत्रकार शिबहादुर कार्की, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालयका प्रमुख मोहन जोशी , पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले शुभकामना व्यक्त गरे ।