प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध पारेको छ ।
प्रदेश सराकरको कामकारबाहीको आलोचना गर्दै दुवै पार्टीले शुक्रबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । प्रदेश सरकारले गरेको अनियमितता र जथाभावी रकमान्तर गरेको विषयमा जवाफ माग गर्दै बैठक अवरोध गरेपछि अनिश्चितकालकालागि प्रदेशसभाको बैठक अवरुद्ध भएको हो । सरकारले जवाफ नदिँदा प्रमुख प्रतिपक्षी काँग्रेस र प्रतिपक्षी नेकपाको अवरोधले लगातार चौथो पटक प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।
बैठक शुरु हुनसाथ काँग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले सरकार एकलौटी ढंगले चलेको आरोप लगाउँदै सदनमा जवाफ दिन आनाकानी गरेकाले बैठक चल्न नदिने बताए । सरकारले ल्याएहो हरेक विधेयकमा सहयोग गर्दै आएपनि विगतमा आफुहरुसंग सरकारले गरेको भद्र सहमति कार्यान्वयन नगरी भाग्न खोजेको कुश्वाहाले आरोप लगाए ।
‘प्रदेश सरकारका मन्त्रीहरु आफुखुसी योजनाका रकम रकमान्तर गरेर आफ्नो क्षेत्र तथा नातागोतलाई योजना बाँडफाड गदैै आएको छ,’ उनले भने, ‘यी सबै कुराहरुको विषयमा सरकारले जवाफ नदिएसम्म हामी सांसद चल्न दिन्नौ ।’ उनले सरकारका मन्त्रीहरुले बजेटलाई दुरुपयोग गरेको र मुख्यमन्त्री चुपचाप बसेकोप्रति सभामुखलाई ध्यानाकर्षण समेत गराएका थिए ।
नेकपाकी सांसद ज्वालाकुमारी साहले जनता आवास कार्यक्रम देखि सरकारको नीति कार्यक्रम सम्म प्रतिपक्षीलाई सरकारले अपहेलना गरेको आरोप लगाइन् । पटक पटक सरकारसंग जवाफ माग गर्दा आश्वासन मात्र दिएकाले जवाफ नदिउन्जेल सदन चल्न नदिने उनले चेतावनी दिएकी थिइन् ।