कुटपिट गरी प्रहरीको पेस्तोल लुट्ने तस्करको नाम खुल्यो, तस्करको आमा पक्राउ
धनुषामा प्रहरीलाई कुटपिट गरी हतियार लुटेर फरार भएका मदिरा तस्करको नाम खुलेको छ । प्रहरीको हतियार लुटेर फरार हुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका १ बस्ने मनोज कुमार यादव रहेको प्रहरीले जनाएको छ ।
तस्करीमा संलग्न मनोजकी आमा शकुन्तला देवी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुखियापटि मुसरनिया गाउँपालिका–१ स्थित नेपाल–भारत नाकामा मंगलवार राति २५ जनाको समूहले भारततर्फ मदिरा तस्करी गर्न खोजेपछि उनीहरुलाई प्रहरीले रोक्न खोजेका थिए ।
‘तस्करले विहारमा प्रतिबन्धित मदिरा तस्करी गर्न लाग्दा प्रहरीले रोकेपछि प्रहरीलाई कुटपिट गरी हतियार खोसेको हो,’ धनुषाका डिएसपी रामेश्वर कार्कीले भने । त्यतिकैमा प्रहरीलाई प्रतिवाद गरी मदिरा तस्कर यादवले प्रहरी सहयक निरीक्षक प्रमोदकुमार साहको चाइनिज पेस्तोल लुटेर फरार भएको उनले बताए । घटनाबारे अनुसन्धान गर्दै अन्य २४ जना तस्करहरुको खोजी कार्य भइरहेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिए ।