तल बूढीगण्डकी । माथितिर अग्ला पहाड । भीरको बाटो, कोही भारी बोकेका, कोही पर्यटक र कोही पथप्रदर्शक । बेलाबेलामा सुख्खा पहिरो झरिरहन्छ। तैपनि यात्रीलाई गन्तव्यमा पुग्नै हतार छ । जिल्लाको चुमनुब्री गाउँपालिका ६ बिहीगाउँको भीरमा सदीयौंदेखि यसरी नै असुरक्षित आवतजावत भइरहेको आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ ।
‘कति पटक पर्खाल लगाउने ? हैरान भइयो’, बाटोको पहिरो उकास्न पर्खाल लगाउँदाको दुःख सुनाउँदै चुमनुब्री गाउँपालिका ५ का वडाध्यक्ष सोनाम ग्याल्जेन भन्छन्, ‘अस्ति भर्खर पर्खाल लगाइरहेका बेला पहिरो खसेर एकजनाको कान च्वाट्टै लग्यो । सबै भागाभाग भए । अब त गाउँले पनि पर्खाल लगाउन आउन मान्दैनन् ।’
चुमनुब्री गाउँपालिकाका कुनै पनि वडा सडक सञ्जालले जोडेको छैन । पदमार्ग पनि सुख्खा पहिरो खसिरहेका कारण ज्यादै जोखिम रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । बाटोमा स्थानीय र मनास्लु क्षेत्रमा आउने हजारौं विदेशी पर्यटक असुरक्षित आवतजावत गर्न बाध्य छन् ।
गाउँपालिकाको बजेटले पहिरो नियन्त्रण गर्न सम्भव नरहेको चुमनुब्री ४ का वडाध्यक्ष पेमा डुन्डुप लामा बताउँछन् । ‘सरकारबाट टाढा भइयो । अरू सेवासुविधा त भएन, बाटो पनि ज्यानको माया मारेर हिँड्नुपर्छ,’ उनले भने, ‘गाउँपालिकाको, वडाको बजेटले पहिरो नियन्त्रण गर्न सम्भव छैन ।’ सुक्खा पहिरोले वर्षैपिच्छे मानिसको ज्यान लिने गरेको उनले बताए ।
भूकम्पपछि बाटो यतिधेरै जोखिम भएको वडा ७ का वडाध्यक्ष पासाङफुन्जो लामा बताउँछन् । ‘भूकम्पले पहरो थर्काइदिएछ, हावा चल्न थालेपछि पहिरो खसिरहन्छ,’ उनी भन्छन्, ‘चौंरीखर्क कटेर छेकम्पार पुग्न ज्यानको बाजी लगाउनुपर्छ । पारि जंगलको बाटो सुरक्षित थियो तर बूढीगण्डकीमाथि पुल छैन । कसरी तर्ने ? ’ म्हुगुम्बाभन्दा केही तल सुक्खा पहिरोले हालै एकजनाको ज्यान गएको उनले सुनाए ।