अन्नपूर्ण प्रथम हिमालमा हराएका मलेसियाली नागरिक ४८ वर्ष वुई किन चिनलाई शुक्रबार उद्धार गरी काठमाडौं मेडिसिटी अस्पताल पुर्याइएको छ । उनी मंगलबारदेखि हराएका थिए ।
बुधबारदेखि उनको खोजी भएको थियो । सिम्रिक एयरको हेलिकोप्टरबाट शुक्रबार बिहान ९ बजे हिमालको आधार शिविरबाट उद्धार गरी काठमाडौं पुर्याइएको उक्त एयरका पोखर प्रमुख कमल गौतमले जनाए ।
३१ जनाको समूहमा गएका आरोही हिमाल आरोहण गरी फर्किँदा मंगलबादेखि समूहबाट छुटेका थिए । उनले बिमा गराएको ग्लोबल रेस्क्युले खोज्न बेवास्ता गरेपछि श्रीमतीले सिम्रिक एयरलाई बुधबार आग्रह गरेकी थिइन् ।
बिहीबार हिमालतिर हेलिकोप्टरबाट खोजीमा गएका पाइलट सिद्धार्थजंग गुरुङले चिनलाई आकाशबाट देखेका थिए । लगत्तै अर्काे हेलिकोप्टरबाट ४ जना उद्धारकर्मी हिमालमा ओरालेर खटाइएको थियो । उनीहरुले बिहीबार साँझ आरोहीलाई फेला पारी सुरक्षित राखेका थिए । साँझ उडान असम्भव भएपछि सिम्रिकले शुक्रबार बिहान उद्धार गरेको हो ।
उद्धार गरिएको ती आरोहीको मेडिसिटी हस्पिटलको आइसियुमा उपचार भइरहेको सिम्रिक एयरले जनाएको छ । हाई अल्टिच्युडमा समेत उड्न सक्ने सिम्रिकको हेलिकोप्टरबाट दुर्गम र हिमाली क्षेत्रमा लङलाइन उद्धार हुँदै आएको छ । हेलिकोप्टर रोक्न नमिल्ने हिमाल लगायत अप्ठेरा ठाउँमा डोरीमा झुन्डिँदै गएर उद्धार गर्ने गरिएको छ । सिम्रिकसँग त्यसरी डोरीमा झुन्डिँदै गएर उद्धार गर्ने टिमसमेत रहेको उक्त एयरका पोखरा प्रमुख गौतम बताउँछन् ।