नलगाड नगरपालिका ६, सिर्केकी विष्णु सिंह ९ कक्षामा पढ्दै थिइन् । त्यहीबेला नलगाड ८ का सुनिल सिंहसँग भेट भयो । चिनजान हुँदै जाँदा मायापिरती नै झाँगियो । केही समयको अन्तरालमै दुवैले सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै लगनगाँठो कसे ।
यो १० वर्षअघिको कुरा हो, जतिबेला विष्णु १४ वर्षकी किशोरी थिइन् । १४ वर्षकै उमेरमा आमाबुवाको मन्जुरीबिनै प्रेमविवाह गरेका उनीहरूको दाम्पत्यजीवन केही वर्ष राम्रैसँग अघि बढ्यो । दुई छोरा पनि भए । तर एक दशकभन्दा बढी टिक्न सकेन उनीहरूको सम्बन्ध र प्रेम । सुनिलसँग सम्बन्धविच्छेद गरेर विष्णु अहिले माइतीमै बस्दै आएकी छन् । दुई छोराको लालनपालनको जिम्मा पनि आफैंले लिएकी छन् ।
‘केही वर्ष हाम्रो सम्बन्ध राम्रै चलेको थियो तर बिस्तारै दिनहुँ रक्सीले मातेर आएर कुटपिट गर्न थाल्यो’, उनले भनिन्, ‘सम्झाउन धेरै कोसिस गरें तर अर्की केटीसँग लहसिएको र बानी नसुधारेकाले मैले डिभोर्स दिने निर्णय गरेकी हुँ ।’ केही थाहा नपाउने उमेरमा बिहे गरेकोमा यतिबेला पछुताएकी छन् उनी ।
जिल्ला अदालत जाजरकोटमा यस वर्ष उनीजस्तै सम्बन्धविच्छेदका लागि १ सय ८ जनाले मुद्दा दर्ता गरेको अन्नपूर्ण पोस्टले खबर छापेको छ । ८३ महिला र २५ पुरुषले सम्बन्धविच्छेदका मुद्दा गर्दा गरेको जिल्ला अदालतको मुद्दा फाँटका नासु सर्पराज खत्रीले बताए । तीमध्ये ५८ को फैसला भइसकेको उनले जानकारी दिए ।