प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले मकवानपुरको मनहरी बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शैयाको अस्पतालमा परिणत गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् ।
मनहरी प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमनका क्रममा मनहरी आइपुगेका मन्त्री दुलालले हेटौँडा र चितवनको भण्डाराको बीचमा ठूला अस्पताल नहुँदा आकस्मिक दुर्घटनामा परेका बिरामीहरुलाई उपचार गर्ने गतिलो गन्तब्य नरहेको उल्लेख गर्दै मनहरीमा अस्पतालन निर्माणको काम अघि बढ्ने बताएका हुन् । २५ शैयाको अस्पताल माग गरिएपनि १५ शैयाको अस्पतालका लागि कुनै समस्या नहुने उनले सुनाए ।
मन्त्री दुलालले स्वास्थ्य केन्द्रको प्रशासनिक कक्ष, इमेर्जेसी वार्ड, प्रसुति वार्ड, एक्स रे लगाएतका वार्डहरुको निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मनहरी स्वास्थ्य केन्द्रका इन्चार्ज डा. रश्मी गुरुङ, स्वास्थ्य शाखा प्रमुख टिकाराम अधिकारी, सिनियर अहेव शिवराम बानियाँ, स्वयम्सेवक समूहका सदस्य शिवकुमार काशी लगायतले स्वास्थ्य केन्द्रको अबस्थाबारेमा मन्त्री दुलाललाई जानकारी गराएका थिए ।
कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाका बिरामीहरुलाई सेवासुविधा दिनका लागि सेवाको गुणस्तर बढाउँदै लैजानुपर्नेमा मनहरी गाउँपालिका अध्यक्ष उप्रेतीले जोड दिएका थिए । मन्त्रीसँगै ३ नं प्रदेश संसदका सदस्य ओमबहादुर ग्लान (प्रदीप) पनि अनुगमनका क्रममा सहभागी थिए ।