पानी, दुध र तेल । मानिसको दैनिक जीवनमा सबैभन्दा बढी प्रयोगमा आउने खाद्यपदार्थ हुन् यी । तर यिनै चिज सबैभन्दा बढी हानिकारक रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा यिनै तीन चिजसम्बन्धी मुद्दा दायर भएका छन् । २०७५ साउनदेखि फागुन मसान्तसम्म देशका विभिन्न जिल्लाबाट पानी, दुध र तेलको न्युन गुणस्तरसम्बन्धी मुद्दा १३६ वटा परेका छन् ।
विभागका अनुसार पानी र दुधमा कोलिफर्म तथा इकोलाइजस्ता जीवाणु देखिएको हो । यी जीवाणुले दुधभन्दा पानीलाई बढी असर गरेको छ । प्रशोधन कार्यमा उच्च सरसफाई नअपनाउँदा यस्ता जीवाणु बढी देखिएको विभागका अधिकारीहरुको भनाइ छ । यस्ता जीवाणुले ठुलो रोग ननिम्त्याएपनि पनि झाडापखालाजस्ता रोगको जोखिम हुन्छ । विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले न्युन गुणस्तरका खाद्यपदार्थ वेचबिखन गर्ने उद्योगलाई कारवाही गरिने बताए ।
‘अनुगमन, उपभोक्ताको उजुरीलगायतबाट नमुना संकलन गरेर गुणस्तर परीक्षणका लागि प्रयोगशालामा पठाइन्छ, मापदण्डभित्र नआएका खाद्य उद्योगलाई तुरुन्त कारवाही गर्छौं,’ उनले भने । विभागले पिउने पानी, दुध तथा तेलको अनुगमनका लागि स्थलगत रुपमै परीक्षण अभियान शुरु गरेको पनि जनाएको छ ।
प्रवक्ता वस्तीले अनुगमनका क्रममा कुनै पनि खाद्य उद्योग मापदण्डभित्र नपरेको पाइए पहिले सुधारका लागि निर्देशन दिने र अटेर गरे बन्द गरिने जानकारी दिए । यसअघि विभिन्न समयमा भएका अनुगमनका क्रममा जारका पानी न्युन गुणस्तरका पाइएका थिए । खासगरी केही उद्योगले खोला र धाराका पानी सिधै भरेर बेच्ने गरेको पाइएका थिए । प्रवक्ता वस्तीले त्यस्ता पानी उद्योगलाई कारवाही गरिने बताए ।
उपत्यकामा २ सय ५० भन्दा बढी पानी उद्योगको अनुमतिपत्र लिएकामा मापदण्डभित्र नपर्ने ५० भन्दा बढी संस्थालाई कारवाही गरिसकेको उनले बताए । विभागका अनुसार पछिल्ला दिनमा भएका अनुगमनमा पानी र दुधको गुणस्तरमा सुधार आएको पाइएको छ । पानी गुणस्तर संघ आफै पनि गुणस्तर अभियानमा लागेका कारण बिक्री हुने पानी प्रशोधित र जोखिमरहित रहेको वस्तीको दाबी छ ।
होटल तथा क्याफेहरुमा पनि सरसफाई र खानाको गुणस्तर जाँच गरी सुधारका लागि निर्देशन दिने गरेको विभागले जनाएको छ । ‘खाना उत्कृष्ट अथवा सन्तोषजनक छ भने त्यस्ता व्यवसायीलाई हौसला प्रदान गर्न स्टिकर दिने गरिएको प्रवक्ता वस्तीले बताए ।