छबिस पाथिभेरा गाउँपालिकको मुम्ला गाउँमा बुधबार बिहान सबेरै घरका केटाकेटी र वृद्धवृद्धा सुकिला लुगामा ठाँटिएका थिए ।
परम्परागत पोसाक र गहनामा सजिएका महिला देउडा खेल्न व्यस्त थिए । हातमा काठका घोचा बोकेर गादो (बर्को) भिरेका पुरुषहरु होस्टे र हैंसे गर्दै अजंगको धुपी सल्लाको सिंगै रुख (काँकर) बोकेर मेला स्थलतर्फ बढ्दै थिए ।
काँकर जसै झोडा खेल्ना गाउँ पुग्यो, मानिसले सिठी र तालीको गडगडाहटका साथ स्वागत गरे । आजको कान्तिपुरमा बझाङबाट वसन्तप्रताप सिंह लेख्छन् बान्नी चौरमा चैतलीको रौनक देखिन्छ । अनि काँकरको ३ तिरबाट मोटो डोरीमा झुन्डिएका मानिसले झन्डै ६० हात लामो रुखलाई तोलेनी खेतमा आधा किमि जति ठाडै हिँडाए ।
काँकर हिँडाएको जोखिमपूर्ण दृष्य सास रोकेर दर्शकले हेरिरहेबेला एकाएक पुष्पवृष्टि भयो । माथि डाँडाबाट धामीगाउँका बासिन्दाले हाहा र हुहु गर्दै त्यस्तै खालको काँकर ल्याइरहँदा तल बसेका दर्शकको ताली र सिठी फेरि गुन्जियो । केही बेरमा दुवै गाउँका काँकर पनि बिस्ना पुर्याइयो ।