प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ‘ब्रेक थ्रु’ भएको छ । टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिले नेपालमा पहिलोपटक सुरुङ बनाएको हो ।
सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले टीबीएममार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लिखित अवधिभन्दा १ वर्षअघि नै सुरुङ निर्माणको काम पूरा भएको हो ।
बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा पुगेको हो । २०७४ कात्तिक मसान्तदेखि टीबीएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ सम्म थियो ।
‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्की पनि उपस्थित थिए ।
पावरहाउस, ब्यारेजको काम बाँकी
सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा त्यसको फिनिसिङदेखि अन्य पूर्वाधारको काम भने बाँकी छ । यो बर्खाभरी सुरुङको फिनिसिङ गरिनेछ ।
त्यसपछि परीक्षणका रुपमा सुरुङबाट झण्डै १० घनमिटर भेरीको पानी बबईमा खसाल्न थालिनेछ । सुरुङ निर्माणको सकिएको घोषणा भएपछि सुरुङभित्र सरसफाइ गर्नुका साथै विद्युतगृह (पावरहाउस) र बाँध (ड्याम) निर्माणको काम सुरु गर्ने तयारी छ ।