राजधानीका गाईबस्तु ट्रयाकिङ गरी चिप्स जडान गरिने भएको छ। महानगरक्षेत्रमा छाडा गाईबस्तुको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले सबै गाईबस्तुमा चिप्स जडान गर्न लागेको हो।
गाईबस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईबस्तुमा चिप्स जडान गर्न लागिएको कामपाले जनाएको छ। कामपा नगर प्रहरी महाशाखा प्रमुख डीएसपी धनपति सापकोटाले चालू आर्थिक वर्षभित्र सबै गाईबस्तुलाई ट्रयाकिङ गरी चिप्स जडान गर्ने बताए। उनले भने – ‘पहिलो चरणमा गाईबस्तुको संख्या यकिन गरी ती गाईबस्तुमा चिप्स जडान गर्ने योजना बनाएका छांै। तथ्यांक संकलन गर्न सबै वडा र परामर्शदातको सहयोग लिने तयारी भएको छ।’
राजधानी वरिपरिका गाईपालकले गाईले बाच्छा जन्माए वा गाई बूढो भए बाटोमै छाड्ने प्रचलन छ। छाडा गाईबस्तुको कारण सवारी दुर्घटना बढ्न थालेपनि नयाँ प्रविधि प्रयोग गर्न लागेको हो। यसअघि कामपाले राजधानीको विभिन्न स्थानबाट गाई पक्रेर छिमेकी जिल्ला छाड्ने गरेको थियो। चिप्स जडान गरेपछि गाईधनीको नाम, कसले कहाँबाट गाईबस्तु बाटोमा छाडेको हो भन्ने विषयमा समेत सजिलै जानकारी हुनेछ। कामपाले यसअघि सिंहदरबारको कुकुरमा चिप्स जडान गरिसकेको छ।
कामपाले विशेषज्ञसहितको टोलीले चिप्स जडान गर्नेछ। महाशाखा प्रमुख सापकोटाले गाईबस्तुलाई असर नपर्ने र विज्ञले देख्ने शरीरको भागमा चिप्स जडान गर्न लागेको हो। चिप्स जडान गर्नुअघि कामपाले सबै वडाका गाईबस्तुको तथ्यांक संकलन गर्ने भएको छ। कामपाको तथ्यांकअनुसार करिब ८ सयको हाराहारीमा गाईबस्तु रहेका छन्। तर यो तथ्यांक भरपर्दो नभएको कामपाकै भनाइ छ। नेपाल समाचार पत्रमा खबर छ।