नागरिकता विधेयकको बिरोधमा रुपन्देहीमा हस्ताक्षर अभियान शुरु गरिएको छ । संसदमा पेश भएको विधेयक खारेजको माग गर्दै हस्ताक्षर अभियान शुरु गरिएको हो ।
नागरिकता विधेयक विरुद्व संघर्ष समिति रुपन्देहीको आयोजनामा रुपन्देहीको बुटवलबाट हस्ताक्षर अभियान शुरु गरिएको छ । नागरिकता विधेयक खारेजको लागि सञ्चालन गरिएको उक्त हस्तक्षर अभियानलाई जिल्लाको विभिन्न ठाउंमा पुराईने अभियानकर्ताले बताएका छन् ।
हस्ताक्षर अभियानमा नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वाधिनतका लागि नागरिक अभियान, जागरण परिषद् नेपाल, माक्र्सवादी विचार मञ्चलगायतको सहभागिता रहेको छ । नागरिकता विधेयकले भारतीय नागरिकालाई नेपाली नागरिकता दिन सहयोग मिल्ने खालको भएको भन्दै नागरिकता विधेयक खारेजको माग गर्दै केही दिनदेखि देशभर हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।
रुपन्देहीमा शुरु भएको हस्ताक्षर अभियान कार्यक्रमको हस्ताक्षर गरी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष वद्रे आलमले अभियानको उद्घाटन गरेका थिए ।उक्त उद्घाटन कार्यक्रममा बोल्दै नेता वद्रे आलमले अहिलेको नागरिकता विधेयक संसदबाट पास गराएर विदेशी नागरिकलाई नागरिकता दिने षडेयन्त्रका बिरुद्व नेपाली जनतालाई सचेत गरानु पर्ने बताए ।
संसदमा पेश भएको नागरिकता विधेयकले धेरै भारतीय नागरिकले नागरिकता पाउने र भोली नेपाली अल्पमत पर्ने सम्भावना रहेकाले सरकारका बिरुद्व खवरदारी गर्नुपर्ने बताए ।
कम्युनिष्टको नाममा ओली सरकारले गलत प्रकारको नागरिकता विधेयक ल्याएर विदेशीलाई नेपाली नागरिकता बाड्न लागेको दावी गर्दै यो नागरिकता विधेयक खारेज नभए भोलिको इतिहासमा ओली सरकार कलंकित बन्ने बताए ।
राष्ट्रिय जनमोर्चाका पूर्वमहासचिव सन्तबहादुर नेपालीले अंगीकृत नागरिकलाई वंसजको नागरिकता दिने सरकारको निर्णय राष्ट्रघाती भएको बताए ।नागरिकता विधेयकलाई लत्याएर सरकारले सिडियो मार्फत विदेशीलाई नागरिकता बाड्ने काम गरेको आरोप लगाउंदै नागरिकताको विषयमा सरकार विदेशीबाट प्रभावित भएको बताए ।
राष्ट्रिय स्वाधिनताका लागि नागरिक अभियानका अध्यक्ष पदम कार्कीले संसदमा पेश भएको नागरिकता विधेय पास भएमा भाेलि नेपाली नागरिक अल्पमतमा पर्ने र विदेशीको नेपालमा बहुमत हुने बताए । देशमा राजनीतिक परिवर्तन भएपनि राष्ट्रिय स्वाधिनता, अखण्डता कमजोर भएको बताए । सरकारमा र सत्तमा रहेकाहरुले विदेशीलाई नेपाली नागरिकता बेच्न लागेकाले चौतर्फी खबरदारी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा थापा, राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव दीपक पौडेल, टेकराज भुसाललगायतले बोल्दै नागरिकता विधेयक खारेज नहुंदासम्म आन्दोलन जारी राख्नुपर्ने बताए ।