नेपाली कांग्रेसका पूर्वसांसदसमेत रहेका उद्योगी दिवाकर गोल्छाको बिहीबार अन्त्येष्टि गरिने भएको छ । उपचारका क्रममा भारतमा निधन भएका उद्योगी तथा पूर्वसांसद गोल्छाको अन्त्येष्टि बेलुकी ५ बजेपछि पशुपति आर्यघाटमा गरिनेछ ।
गोल्छाको पार्थिव शरीर भारतबाट दिउँसो ३ बजे काठमाडौं ल्याइने र केहीबेर बुद्धनगरमा रहेको उनको निवासमा राखिनेछ । भारतको चेन्नईमा उपचारका क्रममा ६७ वर्षीय गोल्छाको मंगलबार राति निधन भएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत भइसकेका गोल्छाको नेपालको औद्योगीकरणमा महत्त्वपूर्ण भूमिका छ । उनकै अग्रसरतामा २४ उद्योग स्थापना भएका थिए । हुलास वायर, खाद्यान्न, श्रीराम सुगर मिल, इस्टर्न सुगर मिल, हुलास जस्तापातालगायत उद्योग उनैले स्थापना गरेका हुन् । दिवाकर गोल्छाका छोरा शेखर र अभिमन्यु गोल्छा अर्गनाइजेसनका निर्देशक छन् ।