नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलछेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ बिहीबार बिहान भत्काइएको छ।
मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा भत्काइएको हो।
मेची पुल बनाउँदै आएको ठेकेदारले सो ‘माइल’ स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति जनाउँदै प्रजिअ दाहाललाई जानकारी गराएका थिए।
नेपाली पक्षलाई जानकारी नै नदिई भारतीय पक्षले आफ्ना स्थानबारे जानकारी दिन बनाएको स्तम्भको बिहीबार बिहान निरीक्षण गरी प्रजिअ दाहालले नियमविपरीत बनाइएको ‘माइल’ स्तम्भ भत्काउन लगाएका हुन्। स्थानीय बसिन्दा र सशस्त्र प्रहरीको टोलीले माइल स्तम्भमा लेखिएको नम्बर र नाम मेटाएर भत्काएका हुन्। रासस