हर्दिया ८ पसरामपुरको मस्जिदमा अल्लाह गुन्जिरहेको थियो । अघिल्लो साँझको आँधीबेहेरीमा ज्यान गुमाएकी तरिफा खातुनको मैएत (शब) लाई ताबुत (कफिन) मा राखेर मुस्लिम समुदायका सदस्यहरु जनाजाको नमाज पढिरहेका थिए । उजाड पसरामपुरका बासिन्दामा नमाजको यो आवाजले अझ दुःख थपिरहेको थियो ।
तरिफाको निधनबाट बिरक्तिएका पति पनि अल्लाह पुकार्दै थिए।
आइतबार साँझ ७ बजेतिर आएको शक्तिशाली हुरीले विपन्न मुस्लिम र दलितको बाहुल्य रहेको २ सय घरको यो बस्तीलाई निमेषभरमै उजाड बनायो । पाकिसकेको खेति सखाप बनायो । दुःखीमाथि दुःख थपियो । अब त उनीहरुसँग न छानो छ, न बिहान–बेलुकीको मानो ।
बस्तीकै ४५ बर्षीया अमिन मियाँ खाना पकाउँदै थिइन्। दाल पाकिसकेको थियो। दिनभरिको कामबाट थाकेर आएका परिवारका अन्य सदस्य खाना खाने तयारी गर्दै थिए। त्यति नै बेला एक्कासी हावाहुरी चल्यो। आँधिबेहरीसहितको बर्षा शुरु भयो। स्थानीयहरु यसलाई ‘चक्रबाँध’ भन्छन्। भुमरीले अमिनको घर उडाइदियो। घर भत्किँदा उनका पतिको हातखुट्टामा चोट लाग्यो ।
बस्ने घर नै नभएपछि पकाएको दालभातसमेत छाडेर साना नानी बोकी परिवारका सदस्यसहित उनी ओतको खोजीमा निस्किन्। आकाशमा चम्किएको बिजुलीको उज्यालोमा सडकमा निस्केर हेर्दा गाउँका सबै घर ढलिसकेका थिए। एउटै घर सग्ला थिएनन् । रातभरी उनीहरु भोकै बसे।
भातसहितको कसौडी उचालेर एकाछेउको दाल देखाउँदै सोमबार दिउँसो अमिनले भनिन् ‘पकाएको भातसमेत खान पाइएन।’ संगैका साना नातिनातिना देखाउँदै उनी भन्दै थिइन्, ‘अब यी केटाकेटीलाई कहाँ राख्ने?’ रुखको फेदमा बसेर उनले आइतबारको रात बिताएकी थिइन्।
सोमबार खण्डहर बस्तीमा भेटिएका मुकेश रामका अनुसार दाताले दिएको चाउचाउले जसोतसो पेट भरिएको छ। साँझ पर्नै लाग्दा त्यहाँ भेटिएका मुकेशले रातिका लागि त्रिपालमुनि बस्ने योजना सुनाए।
हर्दियाको दृश्य कुनै विनाशकारी भूकम्पजस्तै लाग्छ । दाँया बाँयाका रुख लडेर सडकमा थुप्रिएका छन्। एउटै घरका छाना छैनन्। अन्नपात पोखिएका छन्। ओढ्ने ओच्छ्याउने कपडा धुलाम्य भएको छ।
खेतबारीमा लगाएको गहुँ बाली सखाप भएको छ। फुलेको आँपका हाँगाबिगा भाँचिएका छन्। सयौं बर्ष पूराना केही रुख जरैसमेत ढलेका छन्।
सडकको एक छेउमा पार्किङ गरिएको ट्रकसमेत आँधीबेहेरीले पल्टाइदिएको छ। यतिमात्र होइन, घरमा गाडिएको चापाकलसमेत उडाएर खेतमा फालिदिएको छ। हावाहुरीले बिजुलीका सयौं पोल ढलाएका छन् । बिजुलीका तार सडकभरि छन् । एउटै पोल काम लाग्ने छैन। विद्युत प्राधिकरणले जतिसुकै रफ्तारमा काम गर्दा पनि तत्काल विद्युत आपूर्ति हुने संभाबना ज्यादै न्यून छ।
आइतबार राति बारा र पर्सामा आएको आँधीले फेटा गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको थियो। उक्त आँधीमा परी २७ जनाको मृत्यु भइसकेको छ, सयांै घाइते छन् ।