बर्ड फ्लु पुष्टि भएपछि हेटौँडा उपमहानगरपालिका वडा नं ७ मा ४१ हजार कुखुरा नष्ट गरिने भएको छ ।
बिहिबार बर्ड फ्लुको संक्रमण भएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अन्यत्र सर्न नदिनका लागि सतर्कता अपनाएको हो । कार्यालयले बिहीबार साँझ बैठक बसी बर्ड फ्लु संक्रमित क्षेत्रमा चारकिल्ला तोकी पंक्षीजन्य उत्पादन, बिक्री, बितरण तथा ओसारपसार कार्य रोकेको थियो ।
अघिल्लो दिन चार किल्ला तोकेर सिल गरिएको क्षेत्रमा पालिएका ४१ हजार कुखुरा नष्ट गर्ने निर्णय शुक्रबार बसेको बैठकले गरेको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसान सहितको बैठकले कुखुरा नष्ट गर्ने निर्णय गरेको हो । नष्ट गरिएका कुखुराको नियमानुसार क्षतिपूर्ति उपलब्ध गराइने छ ।
बर्ड फ्लु नियन्त्रण आदेश २०६४ को दफा ५ (क) बमोजिको क्षतिपूर्ति दिने गरी कुखुरा नष्ट गर्न लागिएको हो । साथै अन्य क्षेत्रहरुमा पनि बर्ड फ्लुको संक्रमण जाँच गर्नका लागि थप नमूना ल्याबमा पठाइनेछ ।