मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैँबाट शुरु गर्न अनुरोध गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ वार्षिकोत्सवमा उनले रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार भएको बताए। मुख्यमन्त्री पौडेलले प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलतासहित प्रस्तुत हुने दाबी गरे। ‘हामी भ्रष्टप्रति अत्यन्तै निर्मम हुन्छौँ, प्रदेश नम्बर ३ मा भ्रष्टाचारीको कुनै गुञ्जायस छैन,’ उनले भने।
प्रदेश नम्बर ३ का प्रमुख सचिव आनन्दराज ढकालले सबैलाई ऐन नियमको परिधिभित्र रहेर काम गर्न अनुरोध गरे। उनले सबैजना नीति नियमभित्र बाँधिएकाले ऐनविपरीत कार्य गरे छानबिन र कारवाही हुन सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए। उनले हाल भ्रष्टाचारीले प्रविधिको दुरुपयोग गरेर वा देशको सीमा पारी गएर आर्थिक लेनदेन गरेको पाइएकाले त्यसलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख होमकला पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न प्रमुख आयुक्तको नेतृत्वमा अनुसन्धान टोली गठन भएको जानकारी दिँदै भ्रष्टाचार नियन्त्रणमा नागरिकको परिचालनमा जोड दिइएको बताए।
कार्यक्रममा बारा, पर्सा, चितवन र मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, भ्रष्टाचार नियन्त्रण अभियानमा लागेका अभियन्ता तथा पत्रकार महासंघका जिल्ला अध्यक्षहरुको कार्यक्रममा सहभागिता रहेको थियो। रासस