प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन्। सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए।
प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ।
समयको हिसाबले जम्मा ८८ घण्टा ३३ मिनेट संसद् बैठक बसेको थियो। सङ्घबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेलामा नबन्दा कानून बाझिने भएकाले थप कानून निर्माणमा अवरोध भएको सभामुख भण्डारीले बताए।
प्रदेश १ बाट सबैभन्दा बढी कानून पारित भएको उनका भनाइ थियो। हालसम्मका ९७ बैठक तथा २३ कानून पारित गर्दा कुनै विवाद नभएको र बैठकसमेत एकै दिन पनि अवरोध नभएको सचिवालयले जनाएको छ।
प्रदेश नं १ मा जम्मा ९३ प्रदेशसभा सदस्य छन्। जसमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ६७, (पूर्वएमाले ५१, पूर्वमाओवादी केन्द्र १६) नेपाली काङ्ग्रेस २१, सङ्घीय समाजवादी फोरम नेपाल तीन, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक-एक सांसद् रहेका छन्।