युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नेगरी सरकारले काम गरिरहेको ३ नं प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावादोर्जे लामाले बताएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेस्थित गोलघरमा सुरु भएको साप्ताहिक हाटबजारको उद्घाटन गर्दै मन्त्री लामाले कृषि तथा कृषिमा आधारित उद्यमहरुबाटै देशमा सम्बृद्धि ल्याउन सम्भव भएको सुनाए । उनले भएभरका युवा विदेश जाने अबस्थाको अन्त्य हुनेगरी कार्यक्रहरु ल्याइने र केही कार्यक्रमहरु अहिले पनि चलिरहेको बताए ।
‘आफ्ना सन्ततिलाई विदेश पठाउने होइन, स्वदेशमै उद्यम गर्न सिकाउनु आजको आवश्यकता भइसकेको छ’, मन्त्री लामाले भने–‘युवापुस्ता विदेश गएपछि बुढापाकाहरुमात्रै देशमा रहँदा कसरी देश विकास हुन्छ ?’ उनले कृषि तथा पशुपालन र माछापालनका लागि प्रदेश सरकारले चालू आर्थिक बर्षमै कार्यक्रमहरु सञ्चालन गरी अनुदानको व्यवस्था गरेको बताए ।
उद्घाटन कार्यक्रम हाटबजार व्यवस्थापन समितिका अध्यक्ष उद्धव बिष्टको सभाध्यक्षतामा भएको हो भने हाँडीखोलाको कृषि समस्याका बारेमा कृषि समितिका अध्यक्ष रामहरि बिष्टले मन्त्रीसमक्ष प्रष्ट्याएका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विसकसेन ढकाल, वडा अध्यक्ष ध्रुव खड्का, समाजसेवीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कलाकार बिष्णु सापकोटा (हर्केहल्दार) को जोडी तथा लोकदोहारी गायक गायिकाहरुले हाटबजारमा मनोरन्जन दिलाएका थिए ।
साप्ताहिक रुपमा हरेक शुक्रबार हाट बजार सञ्चालन हुने वडा अध्यक्ष ध्रुव खड्काले बताए । हाटबजारमा स्थानीय जातको माछा, तरकारी तथा कृषि उपजको विक्री तथा प्रदर्शनी गरिएको थियो ।