नेपाल कम्युनिष्ट पाटी (नेकपा) का प्रदेश इञ्चार्ज जनार्दन शर्माले बलियो कम्युनिष्ट पार्टी (नेकपा)ले मात्र कर्णाली समृद्ध बनाउन सक्ने बताएका छन्।
बुधबार सुर्खेतमा आयोजित ‘जनप्रतिनिधि तथा अगुवा कार्यकर्ता भेला’ कार्यक्रममा प्रदेश इञ्चार्ज शर्माले विगतको गुटगत मानसिकतालाई भत्काएर अघि बढ्न पार्टी नेतृत्व तथा कार्यकर्तालाई निर्देशन दिए। 'बलियो कम्युनिष्ट पार्टीले मात्र कर्णाली समृद्ध बनाउन सक्छ', इञ्चार्ज शर्माले भने,'समाजवादमा लैजान नयाँ कम्युनिष्ट पार्टी निर्माण भएको हो।'
उनले जनतालाई व्यवस्थित, भरपर्दो र प्रभावकारी सेवा दिएर नेकपालाई जनताको आस्थाको केन्द्रका रुपमा विकास गर्दै लैजाने धारणा व्यक्त गरे।
कार्यक्रममा प्रदेश सहइञ्जार्च यामलाल कँडेलले विधि र विधानमा चल्ने पार्टीको गरिमा र विरासतलाई कायम गर्न विशाल पार्टी निर्माण भएको बताए। उनले कम्युनिष्ट अनुशासन र इमान्दार हुनुपर्नेमा जोड दिए।
प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले विधि र पद्धतिबाट चल्दै आएको पार्टीले अब सहज र व्यवस्थित ढङ्गबाट कामकारवाही अघि बढाएर जनतलाई सेवा प्रवाह गर्नुपर्ने बताए। कार्यक्रममा सचिव मायाप्रसाद शर्मा (पारसमणि), कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, केन्द्रीय तथा प्रदेश सदस्य, नेकपाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। रासस