द्वन्द्व, भोकमरी, अभाव । यिनै परिचय थियो, हिजोका दिनमा अफ्रिकाको। आज पनि अफ्रिकी मुलुकको नाम लिनासाथ अधिकांंशको मनमा त्यस्तै चित्र आउँछ। तर अब त्यस्तो अबस्था छैन। तिनैमध्येको एक अफ्रिकी मुलुक युगाण्डा पछिल्लो समय समृद्धिको यात्रामा अघि बढेको छ।
युगाण्डाको समृद्धिको त्यो यात्रामा केही नेपालीले आफ्नो सीप र सामथ्र्य प्रयोग गरेका छन्। पुस दोस्रो साता युगाण्डाको राजधानी कम्पालामा आयोजित गैरआवासीय नेपाली संंघको तेस्रो सम्मेलनका क्रममा भेटिएका केही प्रतिनिधिपात्रका अनुभब सुन्दा अबको केही बर्षभित्रै युगाण्डा विकसित मुलुकको सूचीमा पर्नेछ।
‘एक्सप्रेस वे’ डिजाइनर थापा
सम्मेलनमा भेटिएका एकजना नेपाली इञ्जिनियर कीर्तिबहादुर थापा जसले बनाएको एन्टेबे र राजधानी कम्पाला जोड्ने ‘एक्सप्रेस वे’ ले यहाँको यातायात प्रणाली सहज र समुन्नत बनाएको छ। यसलाई गौरवशाली परियोजना मानिन्छ। इन्जिनियर थापाले पाँच वर्ष लगाएर डिजाइन गरेको ५२.४ किलोमिटरको सडक खण्डमा निर्मित १ं४५ किलोमिटर कलात्मक शैलीको आकाशे पुल नमूना मानिन्छ।
यसरी चौतर्फी प्रंशंसा पाएका इञ्जिनीयर थापा आफ्नो सीप नेपालमा प्रयोग गर्न नपाएकोमा असन्तुष्ट छन्। नेपालमा गुणस्तरीय काम गर्ने वातावरण नभएपछि सडक बिभागको जागिर छाडेर उनी बिदेश हानिएका थिए। अहिले नेपालका ठूला परियोजनामा महंगो शुल्क तिरेर बिदेशी परामर्शदाता नियुक्त गर्ने चलन नै बसेको छ। जुन कुरा थापालाई मन परेको छैन। कम शुल्कमा गुणस्तरीय काम गर्न सक्षम नेपालीलाई बेवास्ता गर्दै बिदेशीलाई प्राथमिकता दिने सरकारको सोच नै गलत भएको उनी बताउँछन्। काम गर्ने वातावरण भएमा स्वदेश फर्कन चाहन्छन् उनी। स्वदेशमै काम गर्ने वातावरण पाए भोलिका दिनमा छोरानातिले पनि सम्झन्थे कि भन्ने उनको मनमा छ।
होटल व्यबसायी भण्डारी
नाइल नदीको मुहान भिक्टोरिया लेकको प्रबेशद्वार जिन्जा यहाँको पर्यटकीय गन्तब्य हो। पर्यटकीय संभाबना देखेर स्याङ्जाका राजमणि भण्डारीले जिन्जामा संचालन गरेका छन् लियोज बार एन्ड रेस्टुराँ। एनआरएनए, युगान्डाका अध्यक्षसमेत रहेका भण्डारीको यो रेष्टुराँमा १५ स्थानीयले रोजगारी पाएका छन्।
भण्डारीले १३ वर्षअघि यो व्यबसाय शुरु गरेका हुन्। भारतको मुम्बईबाट होटल व्यवस्थापनमा स्नातकोत्तर भण्डारीले अफ्रिकी मुलुक केन्यामा १५ वर्षअघि एउटा भारतीय रेस्टुराँमा म्यानेजरका रूपमा काम गरे। त्यसपछि स्वदेश फर्किएर काठमाडौं, पोखरामा रेस्टुराँ चलाए। स्कुल खोले। यसबाट चित्त नबुझेपछि उनी चिनजानका एक साथीको सल्लाहमा युगाण्डा आएका हुन्। छोराछोरीको उच्च शिक्षा यहाँ पूरा भएपछि स्वदेश फर्केर काम गर्ने योजना भण्डारीले सुनाए।
फ्रण्ट अफिस म्यानेजर श्रेष्ठ
धरानका निमेष श्रेष्ठ राजधानी कम्पालाको स्पेक अपार्टमेण्टमा फ्रन्ट अफिस म्यानेजरका रुपमा कार्यरत छन्। काठमाडौँको सोल्टी, गोदावरी भिलेज, एअरपोर्ट होटलदेखि, हायात होटलसम्म काम गरेको ३४ बर्षीय श्रेष्ठले होटल क्षेत्रमै आफ्नो करिअर देखेपछि कम्पालामा अबसर पाएर यहाँ आएका हुन्।
स्पेक अपार्टमेन्टमा श्रेष्ठबाहेक अन्य ६ जना नेपालीले सुरक्षा व्यवस्थापनको नेतृत्व गरेका छन्। श्रेष्ठको बुझाईमा अबको तीन चार बर्षभित्र युगाण्डा आकर्षक रोजगारीको गन्तब्य हुनेछ।
क्यासिनोका जीएम मानन्धर
क्षेत्रपाटी, काठमाडौँका श्यामकृष्ण मानन्धर कम्पालास्थित फरचुना लिमिटेड समूहको मेफिया कम्पाला क्यासिनोमा जनरल म्यानेजर हुन्। तीन दशकअघि क्यासिनो नेपालबाट मानन्धरको करिअर सुरु भएको हो। उनले अफ्रिकी मुलुक केन्यामा सञ्चालित क्यासिनोमा १० बर्षभन्दा बढी काम गरे। एक दशकअघि असिस्टेन्ट म्यानेजरका रूपमा कम्पाला क्यासिनो छिरेका मानन्धर एक वर्षपछि नै जनरल म्यानेजर भए।
उनको क्यासिनोमा करिब चार सय कर्मचारी छन्। क्षमता भएकाहरुलाई संसारको जनुसुकै मुलुकमा पनि अबसर भएको मानन्धर बताउँछन्।
दूताबास नहुँदाको समस्या
नाइजेरियाको प्रतिष्ठित कम्पनी डांगोटेका म्यानेजरसमेत रहेका एनआरएनका कोषाध्यक्ष हिम्मत थापाका अनुसार अफ्रिकी महादेशका ५४ मध्ये झन्डै ३० मुलुकमा सात हजारभन्दा बढी नेपाली कार्यरत छन्।
थापाको भनाईमा अफ्रिकाको सबैभन्दा ठुलो समस्या भनेकै मानव तस्करी हो। नेपालबाट अवैध बाटो हुँदै युरोप र अमेरिका लैजान मानव तस्करहरुले अफ्रिकी मुलुकलाई ट्रान्जिटका रूपमा प्रयोग गरेका छन्। यसरी अबैध रुपमा आएका महिलाहरु ठूलो समस्यामा पर्ने गरेका छन्। यस्तो बेलामा कोषाध्यक्ष थापासहित एनआरएन अफ्रिका संयोजक सुनिल कार्कीले अलपत्र परेकाहरुलाई व्यक्तिगत पहलमा पटक पटक उद्धार गरेका छन्। तर यसको स्थायी समाधानका लागि सरकारी तहबाटै पहल हुनुपर्ने कार्की बताउँछन्।
अफ्रिकाको इजिप्ट र दक्षिण अफ्रिकाबाहेक अन्य मुलुकमा नेपाली दूतावास खुल्न सकेको छैन। अन्य अफ्रिकी मुलुकमा दूताबास नहुँदा राहदानी नवीकरणदेखि श्रम स्वीकृतिमा नेपालीलाई समस्या पर्ने गरेको गुनासो तेस्रो एनआरएन अफ्रिका बैठकमा उपस्थित इजिप्टका लागि नेपाली राजदूत झबिन्द्र अर्याललाई नेपालीहरुले सुनाएका थिए। एनआरएनका कोषाध्यक्ष थापा राजदूत नियुक्ति प्रक्रिया लामो हुने भएकाले अन्तरिम समस्या समाधानका लागि महावाणिज्यदूत छनोट गर्ने विकल्प सरकारसँग भएको बताउँछन्।
दूतावास नहुँदा नेपाल आउन चाहने पर्यटकसमेत अन्यौलमा परेका छन्। एनआरएन अफ्रिका संयोजक कार्कीको बुझाईमा दूतावास खोल्न सकिए नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई अफ्रिकाबाट पनि मद्दत पुग्नेछ। उनी अफ्रिकामा रहेका भारतीयहरुलाई नेपालमा धार्मिक पर्यटनतर्फ आकर्षित गर्न सकिने पर्याप्त संभाबना देख्छन्।