मकवानपुर जिल्लामा रहेका १० स्थानीय तहमध्ये सुदूरपूर्वमा रहेको बागमती गाउँपालिकाले आफ्नै भवन तयार गरी कार्यालय सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाको १४ कोठे नयाँ भवनको बुधवार दिउँसो पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उ्दघाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले पूर्वी मकवानपुरको बागमती गाउँपालिका क्षेत्र ऐतिहाँसिक क्षेत्र भएको स्मरण गरे । यस क्षेत्रमा तत्कालीन माओवादी र शाही नेपाली सेनाबीच भएको ठूलो भिडन्तको समेत सम्झना गर्दै प्रचण्डले यस क्षेत्रको विकासमा आफूले ध्यान दिने बताए ।
भिडन्तपछि नै यस क्षेत्रमा आउने र हेर्ने आफ्नो इच्छा भएपनि व्यस्तताका कारण आउन नपाएको उल्लेख गर्दै प्रचण्डले भवन उद्घाटन कार्यक्रममा आउन पाउँदा खुसी लागेको उनले सुनाए । एक अर्काे प्रसंगमा उनले यस क्षेत्रका बासिन्दा लामो समयदेखि जग्गाधनी लालपुर्जाबिहिन भएको आफूले थाहा पाएको भन्दै पुर्जा दिलाउनका लागि भूमिका खेलिने बताए ।
बागमती गाउँपालिका वडा नं ४ झुरझुरेमा रहेको कार्यालय भवन १४ कोठाको रहेको छ । कूल ८९ लाख रुपियाँ लागतमा भवन निर्माण भएको हो ।
जिल्लाको हेटौँडा उपमहानगरपालिका, थाहानगरपालिकाबाहेक अरु सबै गाउँपालिकाहरु पुरानै तत्कालीन गाविस भवन तथा सार्बजनिक भवनहरुमा रहेर कार्य सञ्चालन गरिरहेका छन् । तर, बागमतीले २० महिनाको अबधिमा आफ्नै भवन निर्माण गरी उदाहरण प्रस्ुतुत गरेको गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए ।