लामो समयदेखि सुचारु हुन नसकेको सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन माघ ३ गतेका लागि बोलाइएको छ।
सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले सभामा छलफलका लागि विधेयक दर्ता भएसँगै माघ ३ गतेका लागि बैठक बोलाइएको जानकारी दिए। यसका लागि तयारी सुरु गरिएको उनले बताए।
प्रदेश सभाको हिउँदे अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन गराउने पहल गरिए पनि प्रधानमन्त्रीको व्यस्तताले माघ ३ गते सम्बोधन नहुने भएको छ। तर, माघ १५ गतेका लागि प्रधानमन्त्रीको सम्बोधनको तयारी भइरहेको सभामुख थापाले बताए।
असोज २३ गते वर्षे अधिवेशन सम्पन्न भएपनि प्रदेश सरकारले बिजनेस दिन नसक्दा हिउँदे अधिवेशन अनिश्चित बनेको थियो। प्रदेश सरकारलाई बढेको चौतर्फी दवावका कारण प्रयाप्त विजनेस नहुँदा पनि माघ ३ गते बैठकको तयारी गरिएको हो। संविधानमा व्यवस्था भए अनुसार मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट बैठक आह्वान गरिन्छ। जसअनुसार सभामुखले बैठकको मिति र समय निर्धारण गरिने प्रावधान रहेको छ। प्रदेश सभाले हालसम्म १७ वटा ऐन र केही नियमावली मात्रै ल्याउन सकेको छ।
माघ ३ गते बैठक आह्वानको तयारी थालिएपनि पछि भने बैठकले धेरै निरन्तरता नपाउने देखिएको छ। हालसम्म प्रदेश सभामा प्रदेशस्थित सहकारी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सभा सचिवालय सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक मात्रै दर्ता भएकाले बैठकले निरन्तरता नपाउने देखिएको हो।