प्रदेश ७ को स्थायी राजधानी डोटीमा राख्नुपर्ने माग गर्दै अस्थायी राजधानी धनगढीमा प्रदर्शन गरिएको छ।
दिपायल राजधानी संघर्ष समितिको आयोजनामा मंगलबार प्रदर्शन गरिएको हो। प्रदेश ७ को राजधानी ‘दिपायल कायम गर’ भन्दै धनगढीको ट्राफिक चौराहबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो।
उनीहरुले हरेक हिसावले राजधानीका लागि दिपायल उपयुक्त भएको भन्दै दिपायल नबनाइए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। अस्थायी राजधानी घोषणा हुनअघि पनि झण्डै एक महिना दिपायल राजधानीको माग गर्दै आन्दोलन भएको थियो।
यसैबीच, स्थायी राजधानी रहने स्थान र नामबारे सुझाव दिन गठित संसदीय समितिले छलफल जारी राखेको छ। सात दिनको समयसीमा दिएर गठन गरिएको विशेष संसदीय समितिको म्याद सोमबार एक साता थप गरिएको थियो।
संसदीय विशेष समितिका संयोजक तारा लामा तामाङले सात दिनको समयमा सबै सरोकारवालासँग छलफल गर्न समय अपुग भएकाले सभामुखसँग थप समयका लागि अनुरोध गरिएको बताए। उनले भने, ‘धेरै पक्षसँग छलफल गरिसकेका छौं, अब थप गरिएको एक साताभित्र उपयुक्त प्रतिवेदन संसदमा पेश गछौं ।’