काठमाडाैंमा घर भएका सांसदले घर भाडावापत लिएको रकम फिर्ता गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका सांसदले भने घरभाडा लिइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको कैलालीमै घर भएका प्रदेश सांसदले घर भाडावापतको रकम लिइरहेको पाइएको हो ।
प्रदेशस्थित संसद् सचिवालयका अनुसार कैलालीमा घर भएका ११ सांसदले कैलालीमा आफनो घर नभएको भन्दै महीनैपिच्छे घर भाडावापतको रकम लिइरहेका हुन् ।
यसरी राजधानीमै घर भएर पनि घर भाडा लिने सांसदमा कैलाली क्षेत्र नं ५ ‘ख’ बाट निर्वाचित काङ्ग्रेस सांसद डिल्लीराज पन्त, काङ्ग्रेसका समानुपातिक सांसद टेकबहादुर रैका, कैलाली क्षेत्र नं ३ बाट निर्वाचित नेकपाका सांसद वीरमान चौधरी, नेकपाकी समानुपातिक सांसद सुशीला बुढाथोकी, राजपाकी समानुपातिक सांसद मालामती राना, कैलाली क्षेत्र नं ४ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद तथा पूर्वमन्त्री दीर्घ सोडारी, क्षेत्र नं ५ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद नेपालु चौधरी, नेकपाकी समानुपातिक सांसद चुनकुमारी चौधरी, नेपाली काङ्ग्रेसका सांसद दिव्येश्वरी शाह, डोटीबाट निर्वाचित सांसद काङ्ग्रेस सांसद भरतबहादुर खड्का र कञ्चनपुरबाट समानुपातिक सांसद बनेका काङ्ग्रेस नेता देवराज पाठक रहेको बताइएको छ ।
संसद सचिवालयका अनुसार सभामुख र उपसभामुखबाहेक अन्य सबै सांसदले घर भाडावापतको रकम लिइरहेका छन् । मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उपसभामुखले सरकारी आवास सुविधा पाएकाले घरभाडा नपाउने नियम छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा घर भएका सांसदले घर भाडावापत रकम लिएको भन्ने सुन्नमा आएको र आफूलाई सो विषयमा आधिकारिक जानकारी नभएको बताए ।
उनले भने, “धनगढी घर भएकाले घर भाडा बुझ्दैछन् भन्ने हल्ला सुनेको छु, अरु मलाई थाहा भएन ।” घर भाडावापत विपक्षी दलका नेताले रु २० हजार, सत्तापक्षको प्रमुख सचेतक र सभापतिले १८ हजार, सत्तापक्षका सचेतक र विपक्षी दलको प्रमुख सचेतकले १८ हजार र सांसदले १७ हजारका दरले मासिक रुपमा पाउने प्रावधान छ ।
त्यस्तै सांसदलाई फर्निचर खर्चवापत एकमुष्ट रु एक–एक लाख दिने प्रावधानअनुसार सबै सांसदले सो रकमसमेत लिइसकेको बताइएको छ । संसद् सचिवालयले ऐनबमोजिम सबै सांसदलाई घर भाडाको रकम उपलब्ध गराइएको सचिवालयका सचिव बलराम शर्माले बताए ।
“ऐनमा व्यवस्था भएअनुसारको रकम सबै सांसदले बुझ्नुुभएको छ”, उनले भने, “मेरो घर धनगढीमै छ म लिन्न भनेर कसैले पनि भन्नुभएको छैन ।” सांसद सचिवालयका पदाधिकारीको सेवा सुविधा तथा तलबभत्तामा मात्रै मङ्सिरसम्म तीन करोड ८६ लाख ३८ हजार ६१२ खर्च भएको संसद सचिवालयका सचिव शर्माले बताए । उनले धारा र बिजुलीका लागि दुई हजार, सञ्चार सुविधावापत तीन हजार सबै सांसदले लिने गरेको जानकारी दिए । रासस