सामुदायिक विद्यालयको एउटा कक्षामा कति विद्यार्थी होलान्? सहजै उत्तर आउँछ, ५०, ६०, ८० र बढीमा सय। एउटा सामुदायिक विद्यालयको एउटा कक्षामा ४०० जना विद्यार्थी छन् भन्दा पत्याउनै गाह्रो पर्छ। तर यहि बास्तबिकता छ, सुर्खेतको एउटा विद्यालयमा। वीरेन्द्रनगर १२ स्थित अमरज्योति माध्यमिक विद्यालयको कक्षा ९ मा मात्रै ४०० विद्यार्थी छन्।
विद्यार्थी अत्याधिक चाप भएपछि विद्यालयले ६ वटा सेक्सन बनाएको छ। एउटा सेक्सनमा ६० भन्दा बढी विद्यार्थी राखिएको छ। शिक्षा ऐनमा गुणस्तरीय शिक्षाका लागि एउटा कक्षामा ३० देखि ४५ जना विद्यार्थी राख्नुपर्ने उल्लेख छ।
तर यो नीति सुर्खेतको अमरज्योति स्कूलमा भने लागू हुदैन। कक्षा ९ मा मात्र होइन, कक्षा ६ देखि कक्षा १२ सम्म एउटा कक्षामा कम्तीमा डेढ सय विद्यार्थी छन्। कक्षा ६ र ७ मा तीन÷तीन वटा सेक्सन छ भने कक्षा ८ मा पाँच वटा, कक्षा ९ मा ६ वटा र कक्षा १० मा सात वटा सेक्सन बनाएर विद्यार्थीलाई अध्ययन गराइएको विद्यालयले जनाएको छ।
प्रधानाध्यापक खगेन्द्र थापाका अनुसार विद्यालयमा अहिले दुई हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। मावि तहमा करिव एक हजार ४००, कक्षा ११ र १२ मा एक हजार र सिटिईभीटीमा १५० विद्यार्थी छन्। कक्षाकोठा अभाबमा विद्यार्थीको चाप थेग्नै हम्मे भएको छ। जसले गर्दा एउटै कोठामा ६० जनाभन्दा बढी विद्यार्थी राखेर पढाउनु परेको प्रअ थापाले बताए।
नेपाली र अंग्रेजी दुुबै माध्यममा पढाउन थालेपछि विद्यार्थीको चाप बढेको उनले उल्लेख गरे। नेपाली माध्यममा पढ्ने विद्यार्थीलाई निशुल्क पढाइएको छ भने अंग्रेजी माध्यम पढ्ने विद्यार्थीसंग अभिभावकको सुझावमा शुल्क लिने गरिएको छ। उनीहरुसंग मासिक ५००देखि ६०० शुल्क विद्यालयले उठाएको छ।
सो विद्यालयमा वीरेन्द्रनगरका मात्रै विद्यार्थी छैनन्, छिमेकी नगरपालिका लेकबेसीका ६५ जना, सिम्ता गाउँपालिकाका ८२ जना, छिमेकी जिल्ला दैलेखका १५० जना र जाजरकोटका १५० जना विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्या बढेपछि विद्यालयलाई शिक्षकको व्यवस्थापन गर्न सकस भएको प्रअ थापाले बताए। ३० जना शिक्षकको दरवन्दी रहेको विद्यालयमा १५ जना स्थानीय स्रोतबाट राखिएको छ। दरवन्दी र निजीस्रोतका गरी एक सयजना जनशक्ति छ विद्यालयमा।
विद्यार्थीको चाप धेरै भएपछि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको प्रअ थापा स्वीकार्छन्। उनी भन्छन्‘ एउटै कक्षामा ४०० विद्यार्थी छन्, कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएला?’