करीब मध्यान्हकाे १२ बजेकाे थियाे । कालीकोटका अम्मर थापा मालपोत कार्यालय सुर्खेतको प्राङ्गणमा गालामा हात राखेर टोलाएर बसिरहेका थिए । उनी जग्गा पास गर्नका लागि जिल्ला मालपोत सुर्खेतमा आएका हुन् । तर उनको काम १० दिन सम्म पनि हुन नसक्दा (अाज) साेमबार पनि त्यतिकै समय बित्ने हाे कि भन्ने उनलार्इ चिन्ता थियाे । उनले भने ‘मालपोतमा आउन थालेकोे १० दिन भइसक्यो, जहिले आएपनि काम हुन्छ मात्रै भन्छन् तर अहिले सम्म भएको छैन ।’
यस्तै वीरेन्द्रनगर ११ गर्पनबाट पदमा राना जग्गा पास गराउन आएको १२ दिन भइसक्दापनि उनको काम हुन सकेको छैन । उनी भन्छिन् ‘कोही कोही आउँछन् र भित्र भित्रै काम गराएर जान्छन, खोई हाम्रो पालो अहिले सम्मपनि आउँदैन ।’ मालपोत कार्यालयमा काम गर्ने कर्मचारीका चिने जानेका जग्गा सम्बन्धि काम गर्ने सेवाग्राही आएर छिटो छरितोमा नै काम गराएर जाने गरेको गुनासो पदमाले गरिन् तर आफ्नो काम भने १२ दिन बितिसक्दापनि काम हुन नसकेको उनले गुनासो गरिन् ।
वीरेन्द्रनगर ४ सुर्खेतका गोविन्दनाथ योगीले अरु सेवाग्राहीले जस्तै आफुलेपनि सास्ती भोग्दै आइरहेको गुनासो गरे । उनले जिल्ला मालपोतमा टोकन लिएर हप्तौसम्म लाइनमा लागिरहेको दुखेसो पोखे । उनले भने ‘म टोकन लिएर बसेको हप्तौ भइसक्यो, आज सोध्यो काम हुन्छ भन्छन् यस्तो भन्न लागेको हप्तौ भइसक्यो तर अहिले सम्म काम भएको छैन ।’ उनले जिल्ला मालपोत सुर्खेतमा दलालीप्रथा धेरै रहेको गुनासो गरे । उनी भन्छन ‘मालपोतमा काम गर्ने कर्मचारीहरुका आसेपासेहरुका बढीमा दुई दिन या एकदिन मै काम गर्दिन्छन् तर हाम्रो भने हप्ता, दुईहप्ता हुँदा पनि काम हुन सकेको छैन ।’
जिल्ला मालपोत कार्यालय सुर्खेतका सुचना अधिकारी नरबहादुर घर्तीले कर्मचारी अभावका कारण सेवा दिन ढिलाई हुने गरेको बताए । सबै सेवाग्राहीलाई भेदभाव नगरी बराबर सेवा दिने गरेको उनी बताउँछन् । उनले मालपोत कार्यालयमा २३ जना कर्मचारी हुँदापनि सबै सेवाग्राहीलाई सेवा छिटोछरितो दिन नसकेको बताए ।
उनी भन्छन ‘अहिले कार्यालयमा कर्मचारीको अभाव छ, त्यसका कारणले गर्दा पनि हामीले सेवाग्राहीलाई सेवा दिन ढिलाई भइरहेको छ ।’ सेवाग्राहीलाई छिटोछरितो सेवा दिन चाहाँदा चाहाँदै पनि सेवा दिन नसकेको सुचना अधीकारी घर्तीले बताए । उनले जिल्ला मालपोत कार्यालय सुर्खेतमा कर्मचारीको व्यवस्थापन नभए सम्म सेवाग्राहीको छिटोछरितो काम हुन नसक्ने दुखेसो गरे ।