नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पदीय गरिमाको हेक्का राख्न सचेत गराएको छ । शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले नेपाल टेलिभिजनको एक संवाद कार्यक्रममा प्रधानमन्त्रीबाट व्यक्त भएका शव्दहरुप्रति आपत्ती प्रकट गर्दै बोल्दा खेरी पदीय मर्यादाको ख्याल राख्न ध्यानाकर्षण गराएको हो ।
“आफुले जवाफ दिए वुद्धिजीवि थला पर्ने” भनेर प्रधानमन्त्रीले प्रयोग गरेको वाक्यांश र चेतावनीको शैलीका अभिव्यक्ति संविधानको धारा १७ को उपधारा २ को ‘क’ ले निर्दिष्ट गरेको प्रत्येक ‘नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता’ हुनेछ भन्ने शव्द, भावना र मर्मको विरुद्धमा भएको कांगेसले ठहर गरेको छ ।
यस्तै वैठकले कञ्चनपुरकी वालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको दोषि खोजी गर्दै न्यायको माग गरेर प्रकाशित गरिएका उनको तस्वीर अंकित पोष्टरहरु प्रहरी लगाई च्यातिएको घटनाको भत्र्सना गरेको छ ।
यस्तै झापाको गौरादह नगरपालिकामा भएको घटना प्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले नगरपालिकाका प्रमुखको सहमति बेगर उपप्रमुखको अध्यक्षतामा नगरपालिका वोर्डको बैठक बसी कतिपय कार्यविधि पारित गरिनु स्थानीय सरकार संचालन ऐन ०७४ ले निर्धारित गरेको प्रक्रिया विपरित भएको उल्लेख गरेको छ ।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, दिपक गिरी, अजयकुमार चौरसिया, किशोरसिंह राठौर, मोहनबहादुर बस्नेत, आमन्त्रित सदस्य आनन्द (गोरख) विष्ट र विधान संशोधन मस्यौदा समितिका स्थायी आमन्त्रित सदस्य अमरसिंह पुनले आ–आफ्नो धारणा राखेका थिए ।केन्द्रीय कार्यसमितिको अर्काे बैठक भोलि विहान ९ बजे पुनः बस्नेछ ।