नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको बताएका छन्।
स्वर्गीय नेता जुद्धरत्न बज्राचार्यको स्मृतिमा कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री सिंहले आफूले केही काम गर्न नसकेर वुद्धिजिवीहरुप्रति गरेको टिप्पणी प्रधानमन्त्री ओली आत्तिएको रुपमा बुझ्नु पर्ने बताए।
उनले सरकारका कामबारे सत्तारुढ दलका नेताहरुकै अभिव्यक्तिबाट वर्तमान सरकारबाट केही पार लाग्दैन भन्ने निष्कर्ष आइसकेकाले सरकार कतिको बलियो रहेछ भन्ने स्पष्ट भइसकेको बताए। उनले प्रमुख प्रतिपक्षी दलको हैसियतले कांग्रेसले पनि प्रभावकारी भूमिका खेल्न नसकेको स्वीकार गरे। उनले अब कांग्रेसले सरकारलाई सशक्तरुपमा खबरदारी गर्ने बताए।
उनले काठमाडौंमा तत्काल प्रभावकारी कार्यक्रम तय गरेर आन्दोलन उत्रिन निर्देशन पनि दिए। उनले सरकारले सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनाउन थालेकाले अब आफूहरु टुलुटुलु हेरेर नभई सशक्त प्रतिवादमा उत्रिने बताए।