नेपाली कांग्रेसका नेता नरहरि आचार्य संयोजकत्वको राजनीतिक मस्यौदा लेखन समितिले राजनीतिक प्रस्ताव मस्यौदा समितिका संयोजक समेत रहेका कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई आज प्रारम्भिक प्रस्ताव हस्तान्तरण गरेको छ।
मस्यौदा लेखन समितिका संयोजक आचार्यसहित सदस्यहरुको उपस्थितिमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो।
सो अबसरमा संयोजक निधिले प्रारम्भिक प्रस्ताव दुईतीन दिनभित्रै राजनीतिक प्रस्ताव मस्यौदा समितिमा राखेर छलफल गरिने बताए। उनले मस्यौदा समितिबाट अन्तिम रुप दिएपछि जारी केन्द्रीय कार्य समितिको बैठकमा पेश गर्ने उल्लेख गरे। त्यस अबसरमा लेखन समितिका सदस्यहरुसहित कांग्रेस प्रबक्ता बिश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य जीवन परियारको पनि उपस्थिति रहेको थियो।
कांग्रेसले आगामी महासमिति बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव तयार पार्न उपसभापति निधिको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको थियो।
समितिले सातवटै प्रदेशमा पुगेर राजनीतिक प्रस्तावमा समेट्नु पर्ने बिषयबारे मंसीर पहिलो साता सुझाब संकलन गरेर आएको थियो। तिनै सुझाबलाई समेटेर राजनीतिक प्रस्ताव तयार पारिएको हो। जसमा नेपाली कांग्रेसको दर्शन,बर्तमान सरकारप्रतिको दृष्टिकोण, अन्य राजनीतिक दलप्रति कांग्रेसको धारणा, परराष्ट्र नीति लगायतका बिषयलाई राजनीतक प्रस्तावमा समेटिएको राजनीतिक प्रस्ताव लेखन समितिका सदस्य समेत रहेका नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए।
मूल समितिले तयार पारेको राजनीतिक मस्यौदा केन्द्रीय समितिबाट पारित भएपछि महासमिति बैठकमा प्रस्तुत गरिनेछ। मंसीर २८ देखि राजधानीमा हुने नेपाली कांग्रेसको महासमिति बैठक पुस ३ गतेसम्म चल्नेछ।