राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यकर्तालाई मसानघाटको बैराग्यता त्याग्न आग्रह गरेका छन्।
गृहजिल्ला मकवानपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कार्यकर्तालाई भने,‘मसानघाट जाँदा जो कोहीलाई बैराग लाग्न सक्छ। तर सधैं बैराग्यता देखाएर बस्नु उचित होइन।’ चुनाव हारेको पीरमा बिरक्त नमान्न उनले कार्यकर्तालाई निर्देशन दिँदै अबका दिनमा उर्जावान् भएर अघि बढ्नुपर्नेमा जोड दिए।
मकवानपुरका जनतासँग आशा र भरोसा रहेको भन्दै राप्रपाले हिन्दूराज्य, राजसंस्थाको पक्षमा निरन्तर संघर्ष गरिरहेको थापाले बताए। परिवारमा दुःख पर्दा सबै मिलेर दुःखको सामना गर्ने संस्कारबाट आम नेपालीहरु हुर्किने गरेको प्रसंग सुनाउँदै थापाले अहिले राप्रपाका लागि जटिल समस्या भएका बेला मन मिल्ने सबै शक्तिहरु एक हुनुपर्नेमा जोड दिए।
‘हिन्दुराज्य, संवैधानिक राजसंस्था र गाई चुनाव चिन्हमा एकमत राख्ने जुनसुकै शक्तिहरु एक भएर जानुपर्छ’, थापाले भने।
वर्तमान सरकार असफल भएको भन्दै थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको समेत सक्रियता नरहेको बताए। यसले गर्दा सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको उनको टिप्पणी थियो। कार्यक्रममा हालै मनोनीत भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री राजाराम बर्ताैलालाई सम्मान गरिएको थियो।