आगामी एक दशकभित्र विद्युतीय सबारी साधनयुक्त प्रदेश बनाउने महत्वकांक्षी योजना बनाएको ३ नं प्रदेश सरकारले मुख्यमन्त्रीको सबारीका लागि विद्युतीय कार तयारी गरेको छ।
सुविधायुक्त विद्युतीय कार आइतबार प्रदेश राजधानी हेटौँडा आइपुगेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रदेश सरकारले २०८५ सालदेखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौती शहरहरुमा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिवन्ध लगाउने नीति तथा कार्यक्रममार्फत घोषणा गरेको थियो ।
चीनमा उत्पादन गरिएकोे बीवाईडी जीपको मूल्य ५५ लाख पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यो कारको जीपको ब्याट्रीमा १० वर्ष वारेन्टी रहेको छ । २ घण्टा चार्ज गर्दा जीप ४ सय किलोमिटर गुड्ने उत्पादक कम्पनीले दाबी गरेको छ ।
विद्युतीय साधनको नियमित सञ्चालनका लागि चितवनको मुग्लिन, हेटौंडा, त्रिभुवनराजपथको विभिन्न स्थानका साथै पूर्वपश्चिम राजमार्गमा पनि केही महिनापछि विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्न लागिएको छ । पहिलो चरणमा हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर चार्जिङ स्टेशन स्थापना गरिने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले विद्युतीय बसहरु पनि सञ्चालनको तयारी गरेको जनाइएको छ । पहिलो चरणमा हेटौंडा–नारायणगढ सञ्चालन हुने त्यस्ता गाडी निकट भविष्यमा रसुवा–हेटौंडा लगायत क्षेत्रमा पनि सञ्चालन गरिने योजना रहेको बताइएको छ । केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारी र उर्जामन्त्री बर्षमान पुनले पनि विद्युतीय सबारी चढ्न थालिसकेका छन् ।