शनिबारको चियापान कार्यक्रममा अतिथिहरुको स्वागतका लागि महासचिब विष्णु पौडेल, नेता झलनाथ खनाल, अध्यक्ष पुष्पमल दाहाल, माधब नेपाल, गृहमन्त्री रामबहादुर थापा र सुवास नेम्बाङ भृकुटीमण्डपको मञ्चमा लस्करै बसेका थिए।
एमाले र माओवादीबीच एकीकरण भएपछिको नेकपाको पहिलो चियापान कार्यक्रममा स्वागतका लागि बसेका कुनै पनि नेता भित्रैदेखि खुसी हुन नसकेको तिनका हाउभाउबाटै प्रष्ट हुन्थ्यो। एक किसिमले भन्ने हो भने उनीहरुका लागि यो उपस्थिति ‘बाध्यात्मक’ देखिन्थ्यो।
यद्यपि कार्यकर्ताको उपस्थिति भने बाक्लै थियो। तर पनि कार्यकर्ताहरु कता कता निराश देखिन्थे। कार्यक्रम स्थलमा ‘कथित चियापान बहिस्कार गरौं’ भन्ने पर्चा छरेर कार्यकर्ताले त्यसको छनक दिइहाले।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) असन्तुष्ट समूह केन्द्रीय प्रचारप्रसार समितिको नामको पर्चा छर्ने ब्यक्तिलाई नेकपाका कार्यकर्ताले कुटेर बाहिर निकाले। जसबाट पर्चा पक्षधरलाई नराम्ररी चोट पुग्यो।
५ बुँदे पर्चामा भनिएको छ, एमाले र माओवादी एकतामा कमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक रुपमा ५०÷५० को समानताको सिद्धान्तमा एकता गर्नुपर्ने, अन्य वामपन्थी पार्टी लगायतलाई पनि एकता प्रक्रियामा ल्याउनुपर्ने, सरकारको काम प्रभावकारी नभएकाले उच्चस्तरीय सरकार सञ्चालन कार्यदल बनाउनुपर्ने, नेकपा केन्द्रीय कार्यसमिति हचुवाको भरमा बनेको हुँदा तत्काल विघटन गर्नुपर्ने र जनजीविकाको सवालमा कदम चाल्दै सुशासन कायम गर्न माग अघि सारिएको छ।
सीमित व्यक्तिको पदलोलुपताका कारण सामान्य कार्यकर्ताले भित्रैदेखि एकताको खुसीयाली मनाउन नसकेको असन्तुष्टि पर्चामा पाइन्थ्यो।
पर्चा छरिएको केही बरेमै महासचिब विष्णु पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली चियापान कार्यक्रममा आउन नसक्ने जानकारी गराए। जबकि प्रधानमन्त्री ओली दिउँसो ३ बजे आउने कार्यक्रम तय भएको थियो।
पर्चा छरिएपछि ओली कार्यक्रममा नआउनु संयोगमात्र पनि हुन सक्छ। तर महासचिब पौडेलले ‘स्वास्थ्यमा केही समस्या देखिएकाले नआउनु भएको हो। भौतिक रुपमा उपस्थित नभए पनि भावनात्मक रुपमा उपस्थित हुनुहुन्छ’ भन्दै स्पष्टिकरण दिएका थिए। प्रधानमन्त्री ओली नआउने पूर्ब जानकारी पाएर नै हुनुपर्छ, स्वागतका लागि बसेका नेताहरुमा बाध्यात्मकता झल्किएको।
त्यसो त नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ट्वीटमार्फत चियापान बहिष्कार गर्ने जानकारी गराइसकेका थिए।
सत्तासीन कमरेडहरू,
एउटै खाममा ४ वटा शुभकामना÷निमन्त्रणा कार्ड पठाउनु भएकोमा धन्यवाद! तपाईंहरू सबैको भलो होस्,हाम्रो पनि शुभकामना! गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि? त्यसैले म आउन सकिनँ! जय होस!
बाबुराम कमरेड! तपाई मात्र होइन, आयोजक दलकै अध्यक्ष ओली कमरेड पनि आउनु भएन।
अन्त्यमा, नेकपाका एक नेताको टिप्पणी ‘चियापान दुलाहा बिनाको बिबाह जस्तो भो।’