संसद पुनःस्थापनाको मागसहित अघि बढेको आन्दोलन स्वतः राजाविरुद्धको आन्दोलनमा रुपान्तरण भयो। कांग्रेस सन्त नेता कृष्णप्रसाद भट्टराई संवैधानिक राजतन्त्र पक्षधर थिए। गिरिजाबाबुलाई पनि उनले दबाब दिन्थे। तर, २०६१ माघ १९ को कदमपछि प्रतिगमनविरुद्धको आन्दोलन जनस्तरबाटै गणतन्त्रमा रुपान्तरित भएको थियो। आन्दोलनमा ‘प्रतिगमन सच्चाउ, संसद पुनःस्थापना गर’ लगायतका नारा तय गरिएको थियो।
२०६२ बैशाख २१ गते रत्नपार्कको आमसभाबाट आन्दोलन घोषणा भएको थियो। आन्दोलनको सकारात्मक पक्ष भनेकै त्यतिबेला मधेसी र पहाडीको कुरा थिएन। त्यो आमसभामा मैले हिन्दीमै भाषण गर्दै नेपाली भाषामा समेत बोलेको थिएँ। उपस्थित समुदायले ताली बजाएर स्वागत गरेका थिए। त्यतिखेर साम्प्रदायिकताको कुरा थिएन। एकता र सामूहिक सद्भाव थियो। बसन्तपुरमा भएको आन्दोलनमा प्रहरीले लाठीचार्ज गरेर गिरिजाबाबुको टाउको फुटाएको थियो। मलाई पनि टाउकोमा प्रहरीले हान्न खोज्दा नेविसंघका एक जना कार्यकर्ताले बचाएका थिए। उनले नजोगाएको भए म आज बाँचेको नहुन पनि सक्थें।
२०६३ बैशाख ८ गते भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको विशेषदूतका रुपमा डा. करण सिंह नेपाल आएका थिए। उनले सात राजनीतिक दलका नेताहरुसँग सम्पर्क गरे। संसद पुनःस्थापनाको एक मात्र शर्त हामीले सिंहलाई जानकारी गरायौं। राजाले बैशाख ८ गते सम्बोधन गरेर भने,‘सात दलले सिफारिस गरेको मानिसलाई मैले लिएको अधिकार फिर्ता गरिदिन्छु।’ त्यसपछि आन्दोलन स्थगित गरेर राजाको प्रस्ताव मान्न करण सिंहले हामीमाथि दबाब दिए।
सिंहमात्र होइन, अन्य बाह्य शक्तिबाट पनि दबाब आयो। तर, हामी ती दबाबसामू झुकेनौं। आन्दोलनलाई जारी राख्यौं। करण सिंहले कोही एक जनालाई सिफारिस गरेर प्रधानमन्त्री बनाउन र संविधान सभाको चुनाव पछि गणतन्त्रमा जान दबाब दिए। सिंह ज्ञानेन्द्रलाई राजाका रुपमा जोगाइराख्न चाहन्थे।
बैशाख ११ गते दरबार कब्जा गर्ने रणनीति अनुसार आन्दोलन अगाडि बढायौं। मेरो जिम्मा सितापाइला नाकाको नेतृत्व गर्ने, कांग्रेस सभापति गिरिजाबाबुले महाराजगञ्ज नाकाको नेतृत्व गर्ने, एमाले महासचिव माधवकुमार नेपालले कलंकी नाकाको नेतृत्व गर्ने, नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाले चाबहिल नाकाको नेतृत्व गर्ने, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले कोटेश्वर नाकाको नेतृत्व गर्ने, जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले सातदोवाटो नाकाको नेतृत्व गर्ने।
यसरी सबै नाकामा मान्छे भेला गराएर दरबार घेर्ने रणनीति तय गरिएको थियो। त्यसदिन हरेक नाकाबाट एक–एक लाख मान्छे ल्याउने हाम्रो योजना थियो। यसैगरी विद्रोही माओवादीले पनि हरेक नाकाबाट सडकमा मान्छे उतार्ने कुरा भएको थियो। हाम्रो योजना के थियो भने ती सबै नाकाबाट लाखौं मानिसका साथ नारायणहिटी दरबार प्रवेश गरी दरबार कब्जा गर्ने। त्यसक्रममा सेनाले गोली फायर गर्दा हजारौं मानिसको सामूहिक नरसंहार पनि हुन सक्थ्यो। यो कुरा बुझेर पनि दरबार कब्जा गर्ने एउटा मात्र लक्ष्यका साथ हामीले योजना बनाएका थियौं।
याेपनि पढ्नुस्: केपी ओली ०६२-६३ को आन्दोलनमा कहिल्यै सहभागी भएनन्
हाम्रो यो रणनीति कताबाट राजा कहाँ पुुगेछ। त्यसपछि राजाले तत्कालीन प्रधानसेनापति प्यारजंग थापालाई दरबारमा बोलाएर छलफल गरे। राजाले सेनालाई गोली चलाउन आदेश दिएको कुरा गोप्य सुत्रबाट हामीले थाहा पायौं। तत्कालीन प्रधानसेनापति थापाले राजाको आदेश इन्कार गरे। सेना भनेको बाह्य शत्रुका लागि लड्ने हो, आफ्नै देशका जनतालाई नरसंहार गर्न मिल्दैन भनेर उनले भनेछन्। गोली चलाउन थापाले इन्कार गरेपछि राजा दबाबमा परे। गोली चलाउनु भन्दा दलहरुसँग सम्झौता गर्न थापाले राजालाई सुझाव दिए। त्यसपछि बाध्य भएर राजाले कहिले मुख्यसचिव लोकमानसिंह कार्कीमार्फत त कहिले अन्य दूतमार्फत हामी कहाँ विभिन्न चरणमा प्रस्ताव पठाए। तर, हामीले सम्झौता गरेनौ, जनआन्दोलन सफल भयो, संसद पुनःस्थापना भयो।
पछि पार्टीका वरिष्ठ नेताहरु मलाई ‘डाउन’ गरेर मात्रै अगाडि बढ्न सक्ने सोचेका थिए। अर्कातिर विदेशी शक्तिहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन दिएको दबाब नमानेकाले ममाथि द्वेष भावना राखेका थियो। त्यसै निहुमा मलाई तल झार्नका लागि पार्टीलाई मजबुत बनाउने नाममा नेपाल सद्भावना पार्टी (आनन्दी देवी) र तत्कालीन लक्ष्मणलाल कर्ण नेतृत्वको सद्भावना पार्टीसँग एकिकरण गर्ने चाल चालियो।
राजेन्द्र महतो र अनिल झा पार्टी एकिकरणको प्रस्ताव लिएर म कहाँ आए। तर, राजावादी पार्टीसँग एकिकरण गरे हाम्रो नीति, सिद्धान्त कमजोर हुने र गलत प्रवृतिका नेताहरुको पार्टीमा बिगबिगी हुने भन्दै त्यो प्रस्ताव मैले इन्कार गरें। तर, यसमा फेरि विदेशी शक्तिले चलखेल गर्न थाल्यो। हृदेश त्रिपाठी पनि मेरो कुरामा सहमत थिए। विदेशी शक्तिको डरले उनी केही बोल्न चाहेनन्। त्यहीबेला नयाँ दिल्लीबाट एउटा कार्यक्रममा भाग लिन मलाई आमन्त्रण गरियो। तर, हृदेश त्रिपाठी सो कार्यक्रममा भाग लिन जान चाहन्थे। मसँग अनुरोध गरेपछि मैले आफ्नो सट्टामा त्रिपाठीलाई पठाएँ। दुबै पार्टी एकिकरण गर्न आफूलाई पनि दबाब आएपछि पार्टी कार्यसमितिको बैठक बस्नु एक दिन अघि फर्किने शर्तमा हृदेशलाई पठाएको थिएँ। विदेशी शक्तिले मेरो पक्षका कार्यसमिति सदस्य देबनारायण यादव, रेणुु यादव लगायतका सदस्यलाई विभिन्न प्रलोभन देखाएर एकिकरणको पक्षमा ल्याए।
बैठक बस्न एक दिनअघि फर्कने शर्तमा नयाँ दिल्ली गएका त्रिपाठी नआएपछि तीन दिनपछिका लागि बैठक सारियो। तर, उनी आएनन्, बैठक भने बस्यो। बाह्य शक्तिको प्रलोभनमा मेरो तर्फका कार्यसमितिका सदस्यहरु पनि बैठकमा आएनन्। बहुमतका आडमा पार्टी एकीकरण भयो। र, म लोकतन्त्रवादी नेता भएकाले राजावादी पार्टीसँग एकता स्वीकार्य नहुने भन्दै २०६३ साल भदौमा पार्टीबाट राजीनामा दिएर स्वतन्त्र भएँ।
दोस्रो संविधानसभा चुनावअघि उपेन्द्र यादव विभिन्न माध्यमबाट मेरो नजिक आउन चाहन्थे। वरिष्ठ नेताको सम्मानको प्रलोभन देखाएर अभिषेक प्रताप साह, धनुषा साइन्स क्याम्पसका संस्थापक रामस्वार्थ राय र पत्रकार सुरेश यादवलाई उपेन्द्रले म कहाँ पठाए। त्यसपछि उपेन्द्रसँग मेरो भेटघाट भयो। उनले राष्ट्रिय राजनीतिमा तपाईँको ठूलो योगदान छ, त्याग गर्नु भयो, तपार्इँ जस्तो व्यक्तिलाई मैले सम्मान नगरे मलाई कसले सम्मान गर्छ भन्दै पार्टीमा आउन आग्रह गरे। र, वरिष्ठ नेताको हैसियतमा पार्टीमा लगे पनि।
२०७० सालमा सम्पन्न दोस्रो संविधान सभा चुनावमा मैले पनि लड्ने सोच बनाएँ। तर, उपेन्द्रले तपाईँ वरिष्ठ नेता हुनुहुन्छ, के चुनाव लड्ने निर्वाचनको नेतृत्व सम्हालिदिनुस् भने। मैले हुन्छ भने। समानुपातिकमा मेरो नाम एक नम्बरमा राखियो। पार्टीले समानुपातिमा आठ सिट पायो। त्यसमध्ये उनले पछि डेढ करोड, दुई करोड गरी आठवटै सिट बेचे। उपेन्द्रले अपमानित गरेपछि फोरमबाट राजीनामा दिएर अलग भएको हुँ। तर, म पार्टीगत राजनीतिबाट अलग भएपनि राजनीतिक जीवनबाट सन्यास लिएको छैन।
-संवाददाता राेहितकुमार महताेले भरतविमल यादवसँग गरेकाे कुराकानीमा अाधारित।